काठमाडौं, चैत ३१ : बिस्काः जात्राको प्रमुख आकर्षणको रुपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (ल्योसिं) तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी मंगलबार उठाइएको छ । बिस्काः जात्राको चौथो दिन पुरानो वर्षको विदाइको पूर्वसन्ध्यामा भेलुखेल ल्योसिंखेलमा ठड्याइन्छ । ५५ हात लामो लिङ्गा डोरीको सहायताले सयौं युवाले तानेर लिङ्गो उठाउने गरिन्छ ।
ल्योसिं ठड्याउनुअघि ल्योसिंको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त ल्योसिं ठड्याइने प्रचलन रहेको संस्कृतविद् गणेशराम लाछीले जानकारी दिनुभयो । उहाँले त्यही आठ वटा डोरीले आठ कुनामा बसेर ल्योसिं ढालिने पनि जानकारी दिनभयो । उक्त ल्योसिं तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिन्छ । ल्योसिंको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ ।
भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको ल्योसिं हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविदहरू बताउनुहुन्छ ।
ल्योसिं उभ्याइने र ढाल्ने जात्रा नै बिस्काःको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिच्छवीकालदेखि सुरू भएको प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा भव्यरूपमा मनाइन्छ ।
जात्रा हेर्न विहानैदेखि ललितपुर, काठमाडौं, काभ्रे, बनेपा र सिन्धुपाल्चोकदेखि मानिसहरू भक्तपुर पुग्ने गर्दछन् । विहानैदेखि भक्तपुरका बासिन्दाले ल्योसिं उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्नेको घुईंचो लाग्ने गर्छ ।
वैशाख ५ गते मध्याहृन इन्द्रायणी पूजा सम्पन्न गरी अपराहृनमा गुठी संस्थान, भक्तपुरबाट आएका व्यक्तिले इन्द्रायणीमा बत्ती बाली दुभाजु चोकमा मूल पुजारीलाई तरबार बुझाएपछि पुजारीले कुसुलेहरूलाई खासापा बुझाई सुनको ढोका अगाडि इन्द्रायणीको प्रसाद लिई साँझ भेलुखेलमा गई ल्योसिंमा अन्तिम पूजा गरी ल्योसिं ढाल्ने परम्परा रहेको छ ।






