वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

  चैत ३०, २०७७

तनहुँ, चैत ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक शोकमा पर्नुभएको छ । उहाँको माइला भाइ गोविन्दराज पौडेलको ७५ वर्षको उमेर आज चितवनको रत्ननगरस्थित आफ्नै निवासमा निधन भएको हो । 

व्यास नगरपालिकाको २९आँै पदस्थापन दिवसको कार्यक्रममा प्रमुख अतिथि रहनुभएका वरिष्ठ नेता पौडेल भाइको निधनको खबर पाएलगत्तै चितवन जानुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भाइको निधनले आफू एक्लो भएको उल्लेख गर्नुभएको छ ।

“नाताले भाइ भए पनि मेरो साथी जस्तै गरी सबै कुरामा साथ सहयोग पाउँदै आएको थिएँ । राजनीतिक जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गर्दै आएका भाइको निधनबाट मैले आफूलाई एक्लोे महसुस गरेको छु”, नेता पौडेलले शोक सन्देशमा उल्लेख गर्नुभएको छ ।    
    
पौडेलको निधनप्रति नेपाली काँग्रेस तनहुँले दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति बैकुष्ठ न्यौपानेले असल अभिभावक गुमाउनुपर्दा पार्टी र समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । स्व पौडेलका श्रीमती बन्दना, छोरा अनिल तथा छोरीद्वय शान्ता हुमागाइँ र कान्ता हुमागाईं हुनुुहुन्छ ।

तपाईको प्रतिक्रिया