सांसद पद गुमाएका चार मन्त्रीले फेरि लिए शपथ

  चैत २७, २०७७

काठमाडौं, चैत २७ : प्रधानमन्त्रीकाे शिफारिसमा आज नियुक्त हुनुभएका चार मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गाेपनीयताको शपथ ग्रहण लिनुभएको छ । नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिनुभएको हो ।

उहाँहरु यसअघि तिनै मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्थ्यो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो । उहाँहरु चार जना नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहनुभएकामा पार्टी एकता र त्यसपछि कायम नेकपा (एमाले) को केन्द्रीय सदस्यमा आवद्ध हुनुभएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त हुनुभएको घोषणा गरिएको थियो । सांसद नरहेपछि मन्त्रीमा कायम रहन नमिल्ने भएकाले उहाँहरुलाई पुनः नियुक्त गरिएको हो ।

यस अघि नेकपा माअोवादी केन्द्रले सांसद पदबाट हटाएपछि उहाँहरू मन्त्री पदबाट मुक्त हुनुभएकाे थियाे । एमाले केन्द्रीय सदस्यमा मनोनीत हुनुभएका उहाँहरुलाई माओवादी केन्द्रले दलबाट निष्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निष्कासन गरेपछि सांसदबाट पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकलाई जानकारी गराएपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो । बिहीबार सांसदबाट पदमुक्त हुनुभएका उहाँहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया