झलनाथ खनाललाई भेट्न डल्लु पुगिन् राष्ट्रपति भण्डारी

  चैत २१, २०७७

काठमाडौँ, चैत २१ : राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न डल्लु पुगेकी छन् । उनीहरुबीच डल्लुस्थिन खनाल निवासमा भेटवार्ता भइरहेको छ । शनिबार करिब ४ बजे राष्ट्रपति भण्डारी खनाल निवास पुगेकी हुन् ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले राष्ट्रपति र नेता खनालबीच करिब ४ बजेदेखि भेटवार्ता भइरहेको जानकारी दिए । ‘भेट नभएको लामो समय भइसकेको थियो त्यसैले राष्ट्रपति भेट्न आउनुभएको हो । समसामयिक विषयमा छलफल भइरहेको छ,’ भट्टराईले भने ।

राष्ट्रपतिले केही दिन पहिले बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री खनाल अनुपस्थित भएका थिए । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खनाल र नेता माधवकुमार नेपाल असन्तुष्ट रहेका छन्, इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

गोरखापत्र अनलाइनका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच अहिले भेटवार्ता जारी छ । डल्लुस्थित खनाल निवासमा राष्ट्रपति भण्डारी र नेता खनालबीच छलफल जारी रहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारी इतिहासविद डा। महेशराज पन्तले स्थापना गर्नुभएको पुस्तकालयको उद्घाटन गर्न डल्लु गएका बेला नेता खनालसँग पनि छलफलका लागि खनाल निवासमा आउनुभएको स्वकीय सचिव भट्टराईले जानकारी दिनुभयो । भेटवार्ता सवा ४ बजेदेखि शुरु भए पनि अहिलेसम्म जारी रहेको उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भारतको दिल्ली जानुभएको थियो । उपचार गराई फर्किनुभएपछि उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र समसामयिक राजनीतिक विषयमा परामर्श गर्न राष्ट्रपति भण्डारी खनाल निवासमा आउनुभएको भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया