भारतमा काेराेनाकाे दाेस्राे लहर बढेपछि बेलहिया नाकामा विशेष सावधानी

  चैत १९, २०७७

भैरहवा, चैत १९ : पछिल्लो समयमा भारतमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि मुख्य सिमाना मध्येको भैरहवा–सुनौलीमा सजगता अपनाउन थालिएको छ । सीमा नाकामा कोरोनासँगै मलेरिया समेतको संक्रमणबाट जोगिन बुधबारदेखि विशेष सावधानी अपनाउन थालिएको हो ।

युएसएड अन्तर्गत सञ्चालित स्वास्थ्यका लागि सक्षम प्रणाली परियोजनाले सिद्धार्थनगर नगरपालिका र लुम्बिनी प्रदेश समाजिक विकास मन्त्रालयसँग सहकार्य गर्दै नाकामा ल्याव कक्षसहितको हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।

“कोरोना संक्रमणसँगै हामीले तत्काल मलेरिया संक्रमणका बारेमा पनि सिमानामा साबधानी अपनाउन सुरु गरेका छौं”–परियोजना अन्तर्गत आपतकालीन निगरानी अधिकृत रजनीश चौधरीले भन्नुभयो–“सिमानाबाट नेपालतर्फ आउने हरेक यात्रुको तत्काल ज्वरोको नाप लिएर आवश्यक परेमा थप परीक्षण गर्नेछौं ।”

उहाँका अनुसार, नाकाको दुवै किनारातर्फ एक–एक वटा हेल्थ डेस्क स्थापना गरी आवश्यकता अनुरुप जनशक्ति परिचालन गरिएको छ । पश्चिमतर्फको डेस्कमा भारतबाट आएका हरेक यात्रुको थर्मलगनबाट ज्वरोको नाप लिने गरिन्छ । जुन यात्रुमा उच्च ज्वरो देखिन्छ, उसलाई पूर्वतर्फको हेल्थ डेस्कमा आधा घण्टा भन्दा धेरै समय आराम गर्न लगाएर पुनः ज्वरोे मापन गरिन्छ ।

त्यसपछि पनि ज्वरो उच्च देखिएमा डेस्क भित्रै रगतको नमूना लिएर मलेरियाको आरडीटी परीक्षण र कोरोनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिन्छ । दुवै परीक्षणको नतिजाको आधारमा संक्रमित यात्रुको व्यवस्थापन गरिन्छ । कोरोना संक्रमित भएको पुष्टि भएमा संक्रमितको अवस्था हेरेर तत्कालै एम्बुलेन्सद्वारा होम आइसोलेसन, संस्थागत आइसोलेसन वा कोभिड अस्पताल पु¥याइन्छ ।

“पूर्वतर्फको डेस्कमा यात्रुको सामान्य स्क्रिनिङ गरेपछि परीक्षण र यात्रुको व्यवस्थापन गरिन्छ”–चौधरीले भन्नुभयो–“कोरोना र मलेरिया दुवै संक्रमणको परीक्षण गर्नका लागि हेल्थ डेस्कमा जनशक्तिसहितको उपकरण र किट उपलब्ध छन् ।” यस खालको हेल्थ डेस्क भैरहवा–सुनौली नाकामा स्थायी रुपमै संचालन हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोभिड र मलेरिया नियन्त्रणमा आइसकेपछि पनि भविष्यमा आउन सक्ने अर्को महामारी रोगको नियन्त्रण तथा जोखिम न्यूनीकरण गर्नका लागि हेल्थ डेस्कले स्थायी रुपमै काम गर्नेछ । हेल्थ डेस्कमा तत्काल तीन जना अहेव, एकजना ल्याव टेक्निसियन, एक चिकित्सक र एकजना निगरानी अधिकृत खटिएका छन् ।

तपाईको प्रतिक्रिया