ग्रीसले आप्रवासीका आवेदन नलिने, टर्की हुँदै ग्रीस प्रवेश गर्न रोक

  फागुन १९, २०७६

अंकारा, १९ फागुन : ग्रीसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको समाचारमा जनाइएको छ । यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो ।

प्राप्त समाचारमा यसअघि करिब १० हजार आप्रवासीलाई टर्कीसँग जोडिएको ग्रीसको एक जमिनमा रोकिएको बताइएको थियो । जसका कारण ग्रीसका अधिकारीहरूले ती आवेदन नलिने जनाएका हुन् ।

ग्रीसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले ग्रीसको सीमाक्षेत्रमा आवश्यक मात्रामा रोकावट गरिएको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, हाम्रो सीमातर्फ अनावश्यक रुपमा प्रवेश गर्न खोज्ने कुनै पनि देशका आप्रवासीलाई रोकेर राखिएको छ ।

टर्कीले पनि शरणार्थी आप्रवासीको भार थेग्न नसक्ने बताएको थियो । टर्कीले सिरियामा विगतका वर्षहरुदेखि जारी रहेको युद्धका कारण ठूलो सङ्ख्यामा नागरिक भागिरहेका आफूले थाहा पाएको भन्दै यति धेरै मानिसको भार आफ्नो देशले बहन गर्नसक्ने अवस्था नरहेको बताएको थियो ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले भने सिरिया छोडेर शरणका लागि हिँडेका आप्रवासीहरूलाई छिमेकी देशहरु तथा युरोपेली युनियनका सदस्य राष्ट्रमा जानका लागि अनुमति दिने बताउनुभएको थियो । गत शुक्रबार उहाँले ग्रीस र बुल्गेरियातिर जानका लागि अनुमति दिने घोषणा गर्नुभएको थियो ।

उत्तरी सिरियामा रहेका इद्लिब प्रान्तमा गत हप्ता भएको एक भिषण हवाई हमलामा परी करिब ३३ जना टर्किस सैनिक मारिएका थिए । त्यसपछि उहाँले सो घोषणा गर्नुभएको थियो ।

टर्कीमा ठूलो सङ्ख्यामा सिरियाका नागरिक शरणार्थीका रुपमा बसिरहेको बताइएको छ । पछिल्लो एक प्रतिवेदनका अनुसार टर्कीमा सिरियाका करिब ३७ लाख शरणार्थी रहेका बताइएको छ । टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरु बस्ने गरेका बताइन्छ ।

उक्त देशमा तालिबान युद्धका कारण द्वन्द्वमा परेका अफगानिस्तानका नागरिक पनि आप्रवासीका रुपमा त्यहाँ पुगेका बताइएको छ ।

ग्रीस हुँदै अन्य युरोपेली देशहरुमा प्रवेश गर्न खोज्ने आप्रवासीहरुलाई ग्रीसले रोक्ने गरेको छ । प्रधानमन्त्री मित्सोटाकिसले शरणको माग गर्दै दिइएका आवेदनहरुको कारबाही हाललाई अघि नबढाइने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनी रूपमा ग्रीस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिनुभएको छ । ग्रीसको सरकारले २४ घण्टामा झण्डै १० हजार आप्रवासीलाई ग्रीस प्रवेश गर्नबाट रोकिएको जनाएको छ ।

त्यसैगरी प्राप्त एक पछिल्लो समाचारअनुसार ग्रीस र टर्कीको सिमानामा आप्रवासी र सुरक्षाकर्मीबीच केही समय यता झडपहरु पनि भएका छन् । यस विषयमा भने ग्रीस सरकारले केही बताएको छैन । ग्रीसका सुरक्षाकर्मीले आप्रवासीलाई रोक्न बलसमेत प्रयोग गरेका सो समाचारमा जनाइएको छ ।

त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार ग्रीसका अधिकारीहरूले समुद्री मार्ग भएर पनि ग्रीसका केही भूभाग तथा विशेष गरी टापुहरूमा आप्रवासीहरू पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया