काठमाडौं, चैत १८ : प्रतिनिधिसभाका सांसदहरुले पक्ष विपक्षमा धारणा राख्नुभएको छ । सत्तापक्षीय सांसदहरुले सरकारको कामको उच्च प्रशंसा गर्नुभयो भने प्रतिपक्षी दलका सांसदहरुले सरकारको खुलेरै टिप्पणी तथा आलोचना गर्नुभयो । प्रतिनिधिसभाको आज बुधबार दिउँसो बसेको बैठकको विशेष समयमा धारणा राख्दै सांसदहरुले सो तर्क राख्नुभएको हो ।
विशेष सममयमा दलीय प्रतिनिधिकोरुपमा धारणा राख्दै सांसदहरुले संसद बैठकलाई चुस्त बनाएर अघि बढाउन सुझाव दिनुभयो । नेकपा (एमाले) का सचेतक शान्ता चौधरीले वर्तमान सरकारले इतिहासमै ठूलो काम गरेको चर्चा गर्दै सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । विद्रोही पक्षलाई वार्ताको माध्यमद्वारा शान्तिप्रक्रियामा ल्याएर राजनीतिक मूलधारमा ल्याउनु कम उपलब्धि नभएको उहाँले प्रष्ट पार्नुभयो ।
सरकारको राम्रो काममा धन्यवाद दिन नसक्नु गलत भएको उहाँले चर्चा गर्नुभयो । “यो सरकारले इतिहासमै ठूलो काम गरेको छ, म सलाम गर्न चाहन्छु” सचेतक चौधरीले थप्नुभयो, “सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्दैगएको छ, विश्वमा विकराल अवस्था रहेको कोभिड १९ मा सरकारले राम्रो काम गरेको छ ।” नेपालमा कोरोना खोप यति छिटो ल्याएर सरकारले जनताको जीवन रक्षामा लागेको उहाँले बताउनुभयो । नेपाली काँग्रेसका साँसद दिलेन्द्रप्रसाद बडुले सुरक्षा व्यवस्थाबारे जिज्ञासा गर्नुहुँदै गृह मन्त्रालयले गरेको सुरक्षाको व्यवस्थाबारे जानकारी माग गर्नुभयो । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भौतिक आक्रमण हुनसक्ने धारणा राख्नुभएको विषयलाई जोड्दै सांसद बडुले सो असुरक्षाबारे जानकारी गराउन आग्रह गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले विधिको शासन कायम गर्न सरकारसँग आग्रह गर्नुभयो । संसद बैठकलाई बिजनेस दिनु सरकारको दायित्व भएको चर्चा गर्नुहुँदै सांसद गुरुङले सरकारले अझै पर्याप्त बिजनेस दिन नसकेको टिप्पणी गर्नुभयो । कोभिड १९ नियन्त्रण गर्नमा पनि सरकार असफल भएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले चैत २३ गतेसम्म विश्वासको मत लिन सरकारसँग आग्रह गर्नुभयो । जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले कोभिड १९ नियन्त्रणका लागि सरकारले पर्याप्त खोप ल्याउनुपर्ने सुझाव दिनुभयो । “जनताको जीवन रक्षाका लागि सरकार अविलम्ब तयार हुनुपर्छ, घरमा बस भनेर मात्र हुँदैन” उहाँले भन्नुभयो । वातावरण प्रदूषण बढेर जाँदा जनताको स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना भएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सांसद रेशम चौधरीलाई रिहाइ गर्ने समाचार बाहिर आइरहेका बेला त्यसबारे जानकारी गराउन उहाँले सरकारसँग आग्रह गर्नुभयो । राजनीतिक घटना बनाएर माफी दिनु गलत हुने उहाँले बताउनुभयो । त्यसो गरे नराम्रो नजिर बस्ने भन्दै सांसद पौडेलले त्यसको विरोध गर्नुभयो ।
नेमकिपाका सांसद प्रेम सुवालले काठमाडौं उपत्यकालगायत देशभरको वातावरण विग्रेकाले धेरैलाई समस्या परेकाले त्यसको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तेजुलाल चौधरीले थारुमाथि सरकारले झुटा मुद्दा लगाएर मानसिक तनाव दिइरहेको टिप्पणी गर्नुभयो । सरकार र थारु कल्याणकारिणी सभा (थाकस) बीच अहिले वार्ता भइरहेकाले उचित निकास दिनेगरी वार्ता हुनुपर्ने उहाँले सुझाव दिनुभयो । टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाएर समाधान गर्न उहाँले आग्रह गर्नुभयो । सांसद कृष्णभक्त पोखरेलले सरकारले करिब दुई सयजति कानुनको निर्माण गरेको चर्चा गर्नुहुँदै आर्थिक समृद्धिको आधार निर्माण पनि सरकारले तयार गरेबो चर्चा गर्नुभयो । कोभिड १९ ले केही समस्या पारे पनि देशको आर्थिक अवस्था प्रतिकूल नरहेको बताउनुभयो ।
सरकारले गर्न खोजेको काममा संसदमा पनि अवरोध भएको चर्चा गर्नुहुँदै उहाँले सरकारले ल्याउन खोजेको अध्यादेशमा अवरोध गर्न नहुने उहाँले बताउनुभयो । सांसद गंगा सत्गौंवा चौधरीले थरुहट आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न सरकारसँग माग गर्नुभयो । रेशम चौधरीलगायत ५८ जनामाथि लगाइएको मुद्दा झुटा भएकाले खारेज गर्न उहाँले आग्रह गर्नुभयो । टीकापुर घटना राजनीतिक भएकाले त्यहीरुपमा समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । सरकार र थारु कल्याणकारिणी सभाबीच भइरहेको वार्ता सफलताको उहाँले शुभकामना व्यक्त गर्नुभयो । बैठकमा सांसदहरु राजेन्द्रकुमार केसी, लक्ष्मी परियार लगायतका सांसदहरुले धारणा राख्नुभयो ।