काठमाडौं, चैत १२ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठक भोलि शुक्रबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक तय भएको संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिनुभयो ।
दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई समेत जानकारी गराएको बताइएको छ । तर उहाँहरु गत चैत ७ गतेको बैठकमा पनि सहभागी हुनुभएन । संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको यसअघिको तीन बैठकमा नेता नेपाल पक्षका सांसदहरु अनुपस्थित रहँदै आउनुभएको छ ।
बैठकमा नियमित अनुपस्थित रहेमा विधानअनुसार कारवाही हुने चेतावनी सांसदहरुलाई दिइएको छ । पार्टी हित विपरीत गुटगत भेला गरेको भन्दै चारजना नेतालाई यसअघि लिखित स्पष्टीकरण सोधिएको छ । भोलिको बैठकमा पनि सो पक्षका सांसदहरु उपस्थित हुने नहुने अन्याेल कायमै रहेको नेपाल पक्षका सांसदहरुको बुझाइ छ ।






