गाेदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र फिनिसिङ्ग हुँदै

  चैत ११, २०७७

काठमाडौं, चैत ११ : ललितपुरको गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । सम्मेलनको ८० प्रतिशत काम सम्पन्न भएको शहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

शहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दुवाडीले भौतिक पूर्वाधार निर्माण काम सम्पन्न भए पनि कुर्सी राख्ने, फिनिसिङ्गलगायत रङरोगनको काम बाँकी रहेको जानकारी दिनुभयो । निर्माण क्षेत्रको बाटोमा गोदावरी नगरपालिकाले बाटो विस्तार गरेको कारण निर्माण सामग्री ल्याउन समस्या भएकोले काम गर्न ढिलाई भएको भएता पनि सडक खुल्दाको एक महिना भित्रै सबै काम सम्पन्न हुने प्रवक्ता दुवाडीले जानकारी दिनुभयो ।

सडक कार्यालय र नगरपालिकाले आफूसँग समन्वय नगर्दा बाटोका कारण सम्मेलन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको मन्त्रालयको भनाइ छ ।अहिले सामान्य रुपमा सामान ल्याउन सकिए पनि चाहे अनुसार सडक विस्तारको कारणले काम गर्न समस्या भएको उहाँले बताउनुभयो । भवन निर्माणको लागि विभाग र केसी–समानान्तर जेभीबीच २०७६ कात्तिक २० गते सम्झौता भएको थियो । सम्झौता भएको भोलिपल्टैबाटै काम सुरु भएको थियो ।

विश्वव्यापीरूपमा फैलिरहेको कोभिड महामारीका कारण गत वर्षको चैतदेखि असार मसान्तसम्म काम गर्न नपाएको निर्माण पक्षले जनाएको थियो । केन्द्रको भवन निर्माणको काम हालसम्म ८० प्रतिशत सम्पन्न भयो बाँकी रहेको २० प्रतिशत काम बाटो खुलेको एक महिना भित्र सम्पन्न हुने मन्त्रालयको भनाइ छ ।

२५ रोपनी क्षेत्रफलमा ६० हजार वर्गफिटमा फैलिएको केन्द्रमा तीन तलाको भवन र एक तलामाथि बीम बस्ने भएको छ । यसमा एक मुख्य भवन त्यसभित्रको ‘ए’ ब्लकमा शौचालय, पाहुनाकक्ष र विशिष्ट व्यक्ति बस्ने ठाउँ, ‘बी’ ब्लकमा तीन हजार क्षमताको कक्ष र ‘सी’ ब्लकमा सानो बैठककक्षका साथै हल पनि रहनेछ । उपत्यकामा अन्तर्राष्ट्रिय स्तरका ठूलो संख्यामा सहभागीहरु अट्ने हल बन्नेछ ।

तपाईको प्रतिक्रिया