एकताको वातावरण बनाउन नेता नेपालकाे आग्रह

  चैत ०४, २०७७

काठमाडौं, चैत ४ : नेकपा (एमाले) झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका नेताहरुको कार्यकर्ता भेला शुरुभएको छ । ललितपुरको एक पार्टी प्यालेसमा शुरुभएको भेला गुटको भेला नभई पार्टीको भेला भएको नेताहरुले दावी गर्नुभएको छ ।

वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि अध्यक्ष ओलीले नै पहल लिनुपर्ने बेलामा उहाँले एकतर्फी निर्णय गराएर पार्टीको निर्णय भन्नु गलत भएको उहाँले टिप्पणी गर्नुभयो । पार्टीलाई एकतावद्ध बनाउन २८ गतेको निर्णय फिर्ताको विकल्प नरहेको नेता खनालले बताउनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको अभियान पार्टीलाई एकताबद्ध बनाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्नका लागि भएको बताउनुभयो । भेला रचनात्मक उद्देश्यसाथ आयोजना गर्ने रहेकाले अन्यथा नसोच्न उहाँले आग्रह गर्नुभयो । कम्युनिष्ट सिद्धान्तलाई अङ्गाल्दै अघि बढ्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । अहिलेको अवस्था सिर्जना सिद्धान्त र विधि नमानेकै कारण भएको उहाँले चर्चा गर्नुभयो ।

नेतृ अष्टलक्ष्मी शाक्यले कार्यकर्ता भेला गुटको नभई पार्टीको भेला भएको दावी गर्नुभयो । राष्ट्रिय कार्यकर्ता भेला देशको समृद्धि, लोकतन्त्रको रक्षा तथा संविधान र विधिको शासन कायम गर्न आयोजना गरिएको उहाँले बताउनुभयो । फागुन २८ गतेको बालुवाटारमा भएको निर्णयलाई फिर्ता लिई पार्टी एकताको वातावरण बनाउन उहाँले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो ।

भेला विहीबारसम्म चल्ने बताइएको छ । भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको सहभागिता रहेको सो पक्षका नेताहरुले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया