काठमाडौं, चैत २ : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत होनान गोडरले सोमबार शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा दोस्रो कार्यकालका लागि हालै नियुक्त इजरायली राजदूतगोडरले तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको हो ।
भेटकाक्रममा अध्यक्ष तिमिल्सिनाले कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउनुभएको उहाँको प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो ।
दुई देशले संयुक्त राष्ट्रसंघजस्ता अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा चासोका विषयहरुमा निकट रहेर सहकार्य गरिरहेको चर्चा गर्नुहुँदै दुई देशको संसदबीच समेत सुमधुर सम्बन्ध रहेको जानकारी गराउनुभयो ।
इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । त्यसले नेपाली कृषि क्षेत्रमा व्यवसायिकता र प्रविधिको प्रयोग बढाएको उहाँले बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले दुई पक्षबीच सम्झौता भई हाल रोकिएको ज्येष्ठ नागरिकहरूको स्याहारमा नेपाली कामदार जाने प्रक्रिया छिटो सुरु गराउन राजदूत मार्फत इजरायल सरकारसँग अनुरोध गर्नुभयो । नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत, पर्यटन र कृषि, सूचना–प्रविधि, खानी लगायतका क्षेत्रमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।
सो अवसरमा इजरायलका राजदूत गोडरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुसी लागेको बताउनुभएको थियो । इजरायलमा वार्षिक पाँचसय जना नेपाली एघार महिने कृषि तालिमका लागि जाने गरेको बताउँदै उहाँले अब छिट्टै जेष्ठ नागरिकको स्याहारका लागि नेपालीलाई इजरायल जानेक्रम सुरु हुने जानकारी गराउनुभयो ।
इजरायलमा विदेशी कामदारले पनि स्वदेशी बरारबरको सेवा सुविधा पाउने गरेको जानकारी गराउनुहुँदै उहाँले भन्नुभयो, “नेपाली कामदालाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिवद्ध छ ।” नेपालमा पर्यटकको रुपमा घुम्न आउँदा इजरायली नागरिक महिनौं नेपालमा बिताउने गरेको र कृषि तथा सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको राजदूत गोडरले बताउनुभयो ।






