काठमाडौं, फागुन २९ : नेकपा (एमाले) का नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता नेपालसँग छलफल गर्ने बताउनुभएको छ ।
सो अभियानको आज बसेको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय भएको अभियानका सचिव बाबुराम थापाले जानकारी दिनुभयो । अध्यक्ष ओलीको नेतृत्वमा शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णय गरेपछि नेपाल पक्षका नेताहरु असन्तुष्ट भएकाबेला अभियानका संयोजक गौतमले आफ्नो सक्रियता देखाउने बताउनुभएको हो ।
नेता गौतमले अध्यक्ष ओली र नेता नेपालसँग छुट्टाछुट्टै वार्ता गर्ने निर्णयमा पुग्नुभएको सचिव थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । शुक्रबारको बालुवाटार बैठकको निर्णयपछि नेता नेपाल पक्षले आज शनिबार पार्टीभित्र समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ । सो पक्षले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेभित्र नेताहरु विभाजित हुन थालेपछि घरलाई बलियो र एकताबद्ध बनाउन अभियानको माध्यमबाट भूमिका निर्वाह गर्ने निर्णय भएको सचिव थापाले जानकारी दिनुभयो ।






