नक्कली लोकतन्त्रवादीले लोकतन्त्र समस्यामा : प्रधानमन्त्री

  फागुन २९, २०७७

काठमाडौं, फागुन २९ : प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली लोकतन्त्रवादी र जनवादीहरुले देशको लोकतन्त्र समस्यामा पारेको बताउनुभएको छ । लोकतन्त्रवादीहरु चुनावसँग कहिल्यै डराउन नहुने उहाँले चर्चा गर्नुभयो ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) को शनिबार प्रदर्शनीमार्गमा आयोजित बृहत् राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । व्यक्तिगत स्वार्थमा लिप्त भएका नेताका कारण राजनीतिमा समस्या देखिएको भन्नुहुँदै आफूले समृद्ध नेपाल र सुखी नेपालीको मात्र स्वार्थ बोकेको प्रष्ट पार्नुभयो ।

आफूहरुमाथि दुईवटा अभिभारा रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “एउटा राजनीतिक अभिभारा पूरा गर्नुछ, अर्को सामाजिक जागरणको अभिभारा पूरा गर्नुपर्ने छ, सरकारले त्यही काम गरिरहेको छ ।” देशलाई अस्थिरतामा लग्न केही तत्वहरु लागिपरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसो हुन नदिइने बताउनुभयो । “माकुराले थापेको जालोमा भैसी पर्दैन, त्यसैले कोही नआत्तिनुस् प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी आफ्नो उद्देश्यमा अगाडि बढौं, चिन्तित हुने आवश्यकता छैन ।”

“देशलाई सही ढङ्गको नेतृत्व दिने र विकासलाई अगाडि बढाउने न कुनै पार्टी छ, न नेता छ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “हामी कसैलाई प्रधानमन्त्री भइदिनुस् भनेर प्रस्ताव गर्न जाँदैनौं, आफ्नै नेतृत्वमा देशलाई समृद्ध बनाउँछौं ।” आफूलाई अर्को समूहले पार्टीविहीन बनाउन खोजेको भए पनि प्रयास सफल नभएको चर्चा गर्नुभयो ।

पार्टीलाई बर्वाद गर्न खोज्नु भनेको देशलाई बर्बाद गर्न खोज्नु हो प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी आफ्ना लागि होइन, देशका लागि काम गरिरहेका छौं, समृद्ध नेपाल बनाउने काम गरिरहेका छौं, केही वर्षभित्र देश समृद्ध बनिसक्छ ।” उफ्रनेहरु कराउँदै गर्छन्, अदालततिर उजुरी लिएर कुद्दै गर्छन् तर हामी देश बनाउने काममा लागिरहन्छौं प्रधानमन्त्री ओलीले भन्नुभयो ।

महिलाको काँधमा देश बनाउने ठूलो जिम्मेवारी रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “महिलालाई हेप्नेहरुको मानसिक चिन्तनमै अपरेशनको खाँचो छ ।” सामाजिक न्याय, सामाजिक समानताको कुरा गर्ने तर व्यवहारमा उल्टो काम गर्ने समस्या रहेको प्रधानमन्त्री अ‍ोलीले चर्चा गर्नुभयो । महिला नेतृत्वमा पुग्दा हतोत्साहित गर्ने प्रयास हुनेगरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो प्रबृत्तिको अन्त्यका लागि दृढताकासाथ महिलाहरु अगाडि बढ्नुपर्छ भन्नुभयो ।

महिलालाई अपमान गर्नेले आफ्नो आमालाई पनि विर्सने गर्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “सामाजिक जागरणमा महिलाले अभियन्ताको भूमिका खेल्नुपर्छ ।” बोक्सीको नाममा महिलाह प्रताडित भइरहेको भए पनि समाजमा बोक्सी नरहेको बताउनुभयो । “यदि बोक्सी हुँदा हुन् भने सबैभन्दा पहिले मेरो विरुद्ध नै लगाउँथे होला नि ” उहाँले भन्नुभयो, “समाजका यस्ता विकृत कुसंस्कार अन्त्य हुनुपर्छ, बोक्सी, छाउपडिजस्ता कुसंस्कार अन्त्य गर्नुपर्छ ।”

आफूलाई हटाउन अनेक प्रयास भइरहेको भएपनि त्यसको सामना गर्ने उहाँले बताउनुभयो । “तपाईहरु मलाई आज हटाउनुभयो भने नेकपा  (एमाले) पुनः दुई तिहाई बहुमत लिएर सिंहदरवारको गेटबाट प्रवेश गर्छ” उहाँले दावी गर्नुभयो । देश र जनतालाई हेर्ने आफूहरुबाहेक कोही नभएको उहाँले बताउनुभयो । सामाजिक सुरक्षाभत्ता पाँच हजार पु-याउने लक्ष्यसाथ अगाडि बढे पनि चार हजार चाँडै पुर्याउने उहाँले प्रष्ट पार्नुभयो ।

“एमालेको चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छुँ, केन्द्रीय कमिटीका सदस्यहरु आउनु होला, थाहा पाएन भन्न पाइन्न” प्रधानमन्त्री ओलीले थप्नुभयो, “पार्टीको कुनै नेता सदस्यलाई निष्काशन गरिएको छैन, पार्टीको काम गर्न र काम चलाउन केही नेताहरुलाई जिम्मेवारी दिइएको हो ।” देश शान्तिको युगमा प्रवेश गरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय विप्लब चन्द नेतृत्वको पार्टीलाई पनि शान्ति प्रक्रियामा ल्याएको बताउनुभयो ।

सरकारको कामले केही व्यक्ति छटपटाइरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले जति विरोध भए पनि सरकार कामको सफलताको सिँढी चढिरहेको बताउनुभयो । देश बनाउने अभियानमा सबैलाई सरिक हुन उहाँले आह्वान गर्नुभयो ।

तपाईको प्रतिक्रिया