हतियारसहित वैद्य निकट माओवादी क्रान्तिकारीका केन्द्रीय नेता पक्राउ

  फागुन २९, २०७७

नेपालगञ्ज, फागुन २९ : भारी मात्रामा हतियारसहित वैद्य निकट नेकपा (माओवादी क्रान्तिकारी) पार्टीका केन्द्रीय सल्लाहकारलाई प्रहरीले बाँकेको राप्तीसोनारीबाट पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार वैद्य निकट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रीय सल्लाहकार ऋषिराम थारुलाई ठुलो परिमाणमा हतियारसहित उनको आफ्नै घर राप्तीसोनारी गाउँपालिका ५ जबरपुरबाट शनिवार विहान पक्राउ गरिएको हो ।

केन्द्रीय सल्लाहकार थारुको घरबाट प्रहरीले एक थान कटुवा पेस्तोल, एक थान १२ बोर बन्दुक, दुई थान भरुवा बन्दुक र त्यसमा लाग्ने गोलीगठ्ठासँगै तीन थान जरायोको सिंग समेत बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रविन्द्र खनालले पछिल्ला केही दिनदेखि थारु घरमा रहेको र उनको घरमा ठुलो मात्रामा हतियार समेत रहेको सुराकीको आधारमा प्रहरी टोलीले खोजविन गर्दै जाँदा शनिवार विहान पक्राउ गर्न सफल भएको बताउनुभयो ।

उहाँले बैजापुर प्रहरीको सहयोगमा सो अप्रेसन सफल भएको जनाउँदै थप अनुसन्धान र सोधपुछ गर्ने कार्य भैरहेको बताउनु भयो । पक्राउ परेका वैद्य निकट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रीय सल्लाहकार थारु क्षेत्र नम्बर १ बाट प्रदेशसभाको सदस्य र राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा सेमत उम्मेदवार बन्नु भएको थियो । थारुको पक्राउलाई प्रहरीले ठुलो सफलता जनाएको छ ।

तपाईको प्रतिक्रिया