बुटवल,फागुन २८ : पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि आन्दोलनको आँधिबेहरी आउन सक्ने बताउनुभएको छ । तर उहाँले त्यस्तो आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो ।
शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकास संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो ‘भ्रम नरहोस् फेरि विद्रोह, हिंसामा जाने हैन । कलरफूल रेभुलेसन अर्थात् शान्तिपूर्ण क्रान्तिमा जाने हो ।’ लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकार खोसिए र फेरि तानाशाही निरंकुशता लादिए त्यस्तो आन्दोलनको आँधिबेहरी आउने उहाँको तर्क छ ।
अहिले देशमा संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस रहेको उहाँले बताउनुभयो । परिवर्तनलाई उल्ट्याउने ठूलो षड्यन्त्र भइरहेको दाबी गर्दै उहाँले भन्नुभयो ‘देशमा अनिष्टको संकेत भइरहेको छ । जन्मिसकेको बच्चालाई फेरि गर्भभित्र पठाउन खोजिदैछ ।’
पूर्व प्रधानमन्त्री प्रचण्डले परिवर्तनका लागि विगतमा योगदान पुर्याएका नेतालाई घेराबन्दीमा पार्ने षडयन्त्र भइरहेको पनि जिकिर गर्नुभयो । अहिले सबैभन्दा ठूलो घेराबन्दी आफूमाथि भइरहेको दाबी गर्दै उहाँले भन्नुभयो ‘बृहत् शान्ति सम्झाैता एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले हामीसामु हुनुहुन्न । म जीवितै छु । अहिले सबैभन्दा ठूलो घेराबन्दी ममाथि भइहेको छ ।’
अर्को एक प्रशंगमा उहाँले दलित समुदायको कीर्तिमानी योगदानका कारण बिगतमा जनयुद्ध,शान्ति र संविधान सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘म दलित समुदायप्रति ऋणी छु ।’






