पोखरा, १७ फागुन : ‘अक्षरयात्रा प्रतिभा पुरस्कार–२०७६’ बाट पोखरेली साहित्यकार सञ्जीव पौडेललाई पुरस्कृत गरिएको छ । अक्षरयात्रामा सहभागी हुने उदीयमान स्रष्टालाई प्रदान गर्ने गरी युवा साहित्यकार गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा विसं २०६६ मा स्थापित सो पुरस्कारको राशि रु पाँच हजार ५५५ र सम्मापत्र छ ।
कास्कीको रूपा गाउँपालिका–७ हंसपुरमा आज आयोजित अक्षरयात्रा कार्यक्रमको १७५औँ शृङ्खलाका अवसरमा कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पौडेललाई पुरस्कृत गर्नुभयो । कार्यक्रममा श्रेष्ठले साहित्यमा समयचेत र निरन्तरता सबैभन्दा मुख्य कुरा रहेको बताउँदै सर्जकले आफूलाई समयभन्दा अगाडि हिँडाउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । साहित्यिक अभियानले प्रतिभालाई निखार्दै जाने र समाजलाई मार्गनिर्देश गर्दै जाने कुरा बताउँदै उहाँले स्थानीय सरकारले साहित्य, कला र संस्कृति संरक्षणमा विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले लेखक कलाकार निष्क्रिय बस्दा राज्यले विकास र सभ्यताको फड्को मार्न नसक्ने बताउँदै साहित्यकारले राजनीतिकर्मीलाई निरन्तर मार्गनिर्देश गर्नुपर्ने धारणा राख्नुभयो । हरेक कलाकार आफ्नो ठाउँका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै ओझाले आगामी फागुन २७ गते गाउँपालिकाको स्थापना दिवसमा गाउँपालिकामा जन्मेर देशलाई विशिष्ट योगदान दिएका लेखकलाई सम्मान गर्ने कार्यक्रम राखेको जानकारी दिनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य सूर्य खड्का बिखर्चीले साहित्यिक पुरस्कारले सर्जकमा ऊर्जा थप्ने हुँदा यस प्रकारका पुरस्कारको विशेष महत्व रहेको बताउनुभयो ।
गाउँपालिका–७ का वडाध्यक्ष दयासागर सुवेदीले विसं २०२२ मा गण्डकी प्रदेशस्तरीय साहित्य सम्मेलन भएको हंसपुरको ऐतिहासिकस्थलमा नै कार्यक्रम आयोजना गरी हंसपुरकै स्रष्टालाई सम्मानित गर्न पाउँदा गर्विलो इतिहासको पुनरागमन भएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, पुरस्कृत स्रष्टा पौडेल, सुरज उपाध्याय, अक्षरयात्राका परिकल्पनाकार प्रकट पङ्गेनी ‘शिव’, अक्षरयात्रा पुरस्कारका संस्थापक गोविन्द गिरी, साहित्यकार लक्ष्मण थापा, मोहन भण्डारी, कालीदास सुवेदीलगायतले साहित्यको महत्वलगायतका विषयमा बोल्नुभयो । हालसम्म सो पुरस्कारबाट प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, जीवनसागर भण्डारी, सुरज उपाध्याय पुरस्कृत भइसकेका छन् ।