एमाले र समाजवादीबीच वार्ता सकारात्मक, भोलि पुनः छलफल हुने

  फागुन २७, २०७७

काठमाडौं, फागुन २७ : सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ । समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्तालगायतका मागमा दुई दलबीच छलफल भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतबाट खारेज भएपछि बदलिएको राजनीतिक परिवेसमा नेकपा एमालले र जसपाबीच सत्ता साझेदारीको पहल भइरहेको छ। यही क्रममा दुबै दलका तर्फबाट कार्यदल गठन भएको र भेलि पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने बताइएको छ । छलफल सकारात्मक भएको र यसलाई निरन्तरता दिने सहमति भएको एमाले नेता  सुवास नेम्वाङले बताउनुभयो ।

यसअघि दुई दलको बीचमा विभिन्न अनौपचारिक छलफलहरु भएका थिए, त्यसको बारेमा पनि शीर्षतहको बैठकमा जानकारी गराउने काम भएको उहाँले जानाकरी दिनुभयो । मधेश तथा थरुहट आन्दोलनको क्रममा पक्राउ परेका रेशम चौधरीलगायतका नेताको रिहाइ, झुठा मुद्दा फिर्ता लगायतको विषयमा जसपा नेपालका नेताहरुले ध्यानाकर्षण गराएको र त्यसको रिहाइ गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने माग उहाँहरुले गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

जसपा नेपालले उठाएको मागको बारेमा पार्टी तथा सरकार सकारात्मक रहेको र यसको बारेमा विस्तृत छलफल गरेर टुगों लगाउने सहमति भएको उहाँले बताउनुभयो । जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले पनि आफूहरुले उठाउँदै आएको मागप्रति एमाले पार्टी र त्यसले नेतृत्व गरेको सरकार सकारात्मक रहेको बताउनुभयो । तर सकारात्मकले मात्र हुँदैन, त्यसलाई कार्यान्वयन गर्नुपर्ने कुरामा आफूहरुको जोड रहेको उहाँले बताउनुभयो ।

सरकार र जसपा नेपालबीच गठन भएको कार्यदलले शनिवारदेखि छलफल गरेर त्यसलाई टुगों लगाउने र त्यसपछि पुनः शीर्ष तहमा कुरा हुने उहाँले बताउनुभयो । प्रधानमन्त्री ओली पनि जसपा नेपालको मागप्रति सकारात्मक रहेको र चाँडो त्यसलाई टुगों लगाउने उहाँले प्रतिवद्धता जनाएको नेता कर्णले बताउनुभयो । उहाँले भन्नुभयो, विगतमा अहिले प्रधानमन्त्री निकै सकारात्मक देखिनुभएको छ, मधेशको मुद्दा समाधान गर्न सकारात्मक पनि हुनुहुन्छ ।’

दुई दलको बीचमा वार्ता र छलफल गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । त्यसलाई पाँच सदस्यीय बनाउने सहमति पनि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको वार्ता सकारात्मक भएको र शुक्रबार पनि कार्यदलस्तरमा वार्ता जारी रहनेछ । एमालेबाट सुवास नेम्वाङ र डा राजन भट्टराई तथा समाजवादीबाट सर्वेन्द्रनाथ शुल्ल र लक्ष्मणलाल कर्ण कार्यदलमा हुनुहुन्छ । तत्कालिन समाजवादीको तर्फबाट एकजना सो कार्यदलमा राखिने छ । कार्यदलको बैठक शुक्रवार चार बजे बस्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया