खनाल–नेपाल पार्टी सुदृढीकरणरबारे लिखित आग्रह गर्ने तयारीमा

  फागुन २७, २०७७

काठमाडौं, फागुन २७ : पुनर्गठित नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधवकुमार नेपालले पार्टी संगठन भित्र देखिएका पछिल्ला घटनाको नियन्त्रण र बामपन्थी एकताको प्रयासका लागि लिखित धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । वरिष्ठ नेताद्वयको पहलमा आज यहाँ भएको सो पक्षका स्थायी कमिटी सदस्यहरुको भेलाले सो निर्णय गरेको नेता घनश्याम भुषालले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्ला जिल्लामा एमालेका दुई पक्षबीच झडप र आरोप प्रत्यारोप चलिरहेका बेला त्यसलाई पार्टी नेतृत्व तहबाटै पहल भई नियन्त्रण गरिनुपर्ने माग सो पक्षका नेताहरुको छ । पूर्व मन्त्रीसमेत रहनुभएका नेता भुषालले भन्नुभयो, “नेकपा एमालेलाई संगठित र संरचनागत रुपले अगाडि बढाउन तत्कालिन जेठ २ गतेमा फर्कनुपर्छ भन्ने हाम्रो ठम्याई छ ।” सर्वोच्च अदालतको पछिल्लो निर्णयले एमाले र माओवादी केन्द्र अलग अलग पार्टीमा पुनस्र्थापित भएपछि पूर्व एमालेहरु सबै एक ठाउँमा आएकाबेला नेतृत्वले चाँडै छलफलका लागि बैठक बोलाउनुपर्ने बुझाई उहाँहरुको छ ।

अध्यक्ष केपी शर्मा ओलीले एमालेको बैठक बोलाउने बताइसक्नुभएको छ । तर कहिले बैठक बस्नेबारे अझै टुङ्गो लागेको छैन । यहीबीच खनाल–नेपाल पक्षले आफ्नो खेमाका नेताहरुसँग निरन्तर छलफल गरिरहनुभएको छ । हिजो बुधबार सो पक्षका केन्द्रीय सदस्यहरुको भेला बोलाई छलफल गर्नुभएको थियो । आज स्थायी कमिटीका सदस्यहरुसँग वरिष्ठ नेताद्वयले छलफल गर्नुभएको हो ।

सर्वोच्च अदालतको फैसलापछि तत्कालिन केपाका एमाले पक्षका सबै नेता तथा कार्यकर्ता एकसाथ एमालेमा फर्केकाले कसैप्रति लक्षित गरेर आरोप प्रत्यारोप गर्न नहुने उहाँहरुको आग्रह छ । अझ बामपन्थी शक्तिको एकताबाटै वर्तमान सरकारलाई टिकाउन सकिने र भविष्यमा सबै बाम शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास जारी राख्नुपर्ने छलफल भएको स्थायी कमिटी सदस्य नेता भुषालले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया