देहरादुन, फागुन ११ : भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोरोनाभाइरस परीक्षण अनिवार्य गरिएको छ ।
अधिकारीका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्य प्रदेश र छत्तीसगढ प्रदेशबाट आउनेलाई परीक्षण अनिवार्य गरिएको हो ।
कोरोनाभाइरसको महामारीबाट अत्यन्त प्रभावित भएकाले ती प्रदेशबाट आएकालाई परीक्षण अनिवार्य गरिएको अधिकारीले जनाएका छन् ।
“उल्लेखित प्रदेशमा कोरोनाभाइरसको महामारी अझै न्युन भएको छैन, त्यसैले ती मध्ये जुन प्रदेशबाट आएपनि उनीहरुलाई कोरोना परीक्षण गराउन निर्देशन छ,” निर्देशनमा उल्लेख गरिएको छ ।
विभिन्न प्रदेशमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृत्यु भएकाको सङ्ख्यामा बृद्धि भएपछि यस्तो व्यवस्था गरिएको हो ।
भारतमा मंगलबार बिहान थप १० हजार ५८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अरु ७८ जनाको मृत्यु भएको छ । यो सङ्ख्या पछिल्लो २४ घण्टामा भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको कुल सङ्ख्या एक करोड १० लाख १६ हजार ३४३ पुगेको छ । तीमध्ये एक लाख ४७ हजार ३०६ अझै सक्रिय अवस्थामा रहेका छन् ।
त्यसैगरी कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५६ हजार ४६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।