महेन्द्रनगर, माघ २८ : पूर्वसांसद गंगादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो ।
“नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजीकै हृदयाघात भयो”, कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भन्नुभयो, “उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।”
उहाँको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताउनुभयो । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाइरहनुभएको बुझिएको छ ।
देउवाद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसांसद, पार्टीको कञ्चनपुर जिल्ला कार्यसमितिका पूर्वसभापति तथा ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य गंगादत्त जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । जोशीको कञ्चनपुरको महेन्द्रनगरमा हृदयघातबाट आज ८५ वर्षको उमेरमा निधन भएको हो ।
सभापति देउवाले एक शोक वक्तव्यमार्फत जोशीको निधनको खबरले आफू निकै मर्माहत र स्तब्ध भएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । नेता जोशीले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा खेलेको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै सभापति देउवाले उहाँको निधनले कांग्रेसले एक कर्मठ नेता गुमाएको उल्लेख गर्नुभएको छ ।
स्व जोशी उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । जोशीले पार्टीको विभिन्न पदमा रहेर पार्टी संघठन निर्माण तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनुभएको थियो । स्व जोशी कांग्रेसको भ्रातृ संस्था नेपाल किसान संघको संस्थापक सदस्य एवं पूर्वउपसभापति समेत हुनुहुन्थ्यो ।






