हिमपहिरोका कारण भारतमा २६ को मृत्यु, १८० अझै बेपत्ता

  माघ २७, २०७७

नयाँ दिल्ली, माघ २७ : भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मंगलबारसम्म २६ जनाको शव भेटिएको छ ।

हिमपहिरोका कारण अरु १८० भन्दाबढी अझैपनि हराइरहेको अधिकारीले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीले बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् ।

मृतक तथा बेपत्ता भएका भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीको भनाइ छ ।

दुइटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ ।

स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताउनुभयो ।

विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । धेरै जना उद्धारकर्मी सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरा बढी नै जान थालेको विज्ञले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले छ हजार व्यक्तिको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया