नेपालगञ्ज, माघ १५ : अनियमित तरिकाले व्यक्तिका नाममा गरिएको ५० करोड मूल्य बराबरको सरकारी जग्गालाई पुनः सरकारकै नाममा फिर्ता ल्याइएको छ ।
बाँकेको खजुरा–४ को विष्णुकुमार थापा र रत्नाकुमारी थापाको नाममा अनियमित तरिकाले दर्ता गरिएको ५० करोड रुपियाँ बराबरको १७ बिघा जग्गा नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरिएको मालपोत कार्यालय, बाँकेले जानकारी दिएको छ ।
विभिन्न जालझेल गरेर ५० करोड मूल्यको सरकारी जग्गालाई थापा दम्पत्तिको नाममा गरिए पनि हाल आएर सो बारेमा छानविन गरेर सरकारकै नाममा फिर्ता गरिएको मालपोत कार्यालय बाँकेका निमित्त प्रमुख अमर सेजुवालले जनाउनुभयो ।
उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको निर्देशनमा सो जग्गा बारे छानबिन गर्दा सरकारी जग्गा रहेको पुष्टि भएपछि सरकारकै नाममा फिर्ता ल्याइएको बताउनुभयो ।
भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको अभिलेखमा दुई फरक कित्ताका १० र ७ बिघा गरी १७ बिघा जग्गा विष्णुकुमार थापा र रत्नादेवी थापाका नाममा ल्याइएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताउनुभयो ।
‘यी नै थापा परिवारबाट कानुनी जालझेल गरी मोटो रकम प्रलोभनमा पारेर जग्गा आफ्नो बनाइराख्न भूमिसुधारका कर्मचारीलाई प्रभावमा पारेको खुलेको छ,’ प्रजिअ कुरुम्वाङले भन्नुभयो ।
उता, खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ माघ ६ गतेको बैठकले सरकारी जग्गालाई फिर्ता ल्याउन गरेको निर्णय कार्यान्वयनमा ल्याउन गाउँपालिकाले भूमिसुधार तथा मालपोत कार्यालयलाई दवाव दिएको बताउनुभयो ।
उहाँले एक वर्षसम्म पनि सो बारेमा पालिकालाई कुनै औपचारिक जानकारी नआएपछि यही माघ ४ गते भूमिसुधार तथा मालपोत कार्यालय बाँकेलाई पत्राचार गर्दै निर्णय कार्यान्वयनको माग गरिएको बताउनुभयो ।
सोही मागपछि अनुसन्धान र छानबिन हुँदा सो जग्गा अनियमित तरिकाले कर्मचारीलाई प्रलोभनमा पारेर थापा दम्पत्तीले आफ्नो नाममा गरेको पाइएको थियो ।






