काठमाडौँ, माघ ११ : न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्ति तथा पदस्थापन गरेको छ । परिषदको आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो । निरौला मुख्य न्यायाधीशमा नियुक्त भएसँगै सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त भएको छ ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले मुख्य न्यायाधीशमा नियुक्ति र पदस्थापन भएको जानकारी दिनुभयो । कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ । यस्तै, उच्च अदालत जनकपुरमा कायम मुकायम मुख्य न्यायाधीशमा कार्यरत प्रकाशचन्द्र गजुरेललाई पनि मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ । गजुरलेललाई जकनपुरमै पदस्थापन गरिएको छ । उच्च अदालत तुल्सीपुरमा कायम मुकायम मुख्य न्यायाधीश रहनुभएकी नीता गौतम दीक्षितलाई मुख्य न्यायाधीशमा नियुक्त गरिएको छ । दीक्षितलाई पनि तुल्सीपुरमै पदस्थापन गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
कार्यकारी निर्देशकमा उपाध्याय
बैठकले राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सर्वोच्चका पूर्व न्यायाधीश वैद्यनाथ उपाध्यायलाई सिफारिस गरेको छ । न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले कार्यकारी निर्देशक नियुक्त गर्ने कानुनी व्यवस्था छ । कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुने व्यवस्था छ । यसअघि कार्यकारी निर्देशक रहनुभएका तपबहादुर मगर राष्ट्रिय मानव अधिकार आयोगको प्रमुख आयुक्तमा सिफारिस भएपछि उक्त स्थान रिक्त थियो । उपाध्यायले उमेर हदका कारण २०७३ पुस २९ गतेबाट अवकाश पाउनुभएको थियो ।






