रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

  माघ ०१, २०७७

ढाका, माघ १ : बंलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ ।

आगलागीका कारण सयौँ शरणार्थीहरूका टहरा जलेर उनीहरू बासस्थान विहिन भएको अधिकारीहरूले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिबिरमा भएको आगलागीपछि शरणार्थीहरू विस्थापित भएका हुन् ।

सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कार(ा प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरूको भनाइ छ ।

शरणार्थी सहायता आयुक्त मोहम्मद शम्सद डौजाले स्थानीय समयअनुसार विहान ३ बजे आगलागी भएको जानकारी दिनुभयो ।

“झण्डै दुई घण्टापछि मात्रै विहान ५ बजेतिर आगलागी नियन्त्रण गरिएको थियो, त्यति बेलासम्ममा रोहिंग्या शरणार्थीका झण्डै पाँच सय टहरा पूर्ण रूपमा जलेका थिए,” उहाँले भन्नुभयो ।

टहरा पनि जलेपछि त्यसमा बस्दै आएका हजारौँ शरणार्थीहरू अहिले हिँउदे जाडोको मारमा परेको प्रत्यक्षदर्शीले बताए ।

उनीहरूलाई अहिले लगाउने, ओड्ने, ओच्छयाउने कपडा, बस्ने ठाउँ, खाद्य पदार्थको खाँचो रहेको र त्यसको व्यवस्थापन गरिदिने कार्य भइरहेको पनि उद्धार कार्यमा सम्लग्नहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया