इटलीद्वारा संकटकाल अवधि विस्तार

  माघ ०१, २०७७

रोम, माघ १ : कोभिड–१९ संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी संकटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ ।

बिहीबार सरकारद्वारा जारी विज्ञप्तिअनुसार इटलीमा अहिलेसम्म मृत्यु भएका कोभिड–१९ संक्रमितको संख्या ८० हजारभन्दा बढी पुगेको छ । इटालीले सन् २०२० को जनवरी ३१ देखि महामारीका कारण राष्ट्रिय संकटकालको घोषणा गरेको हो ।

इटलीले संकटकालको विस्तारसँगै बेलुका १० बजेदेखि विहान पाँच बजेसम्मलाई निषेधाज्ञा अवधि पनि तोकिएको छ । इटलीमा संक्रमणको जोखिम भएका क्षेत्रमा नियन्त्रणका फरक फरक उपाय अवलम्बन गरिएको छ ।

सरकारले संक्रमण नियन्त्रणका लागि चौथो तहको नियन्त्रणका उपाय पनि अपनाएको छ । जस अनुसार हरेक एक लाख बासिन्दाहरू रहेका क्षेत्रमा दैनिक ५० व्यक्ति संक्रमित भएमा उक्त क्षेत्रलाई ‘ह्वाइट’ क्षेत्र मानी गतिविधि सञ्चालनमा अनुमति प्रदान गर्न सकिने जनाएको छ तर कुनै पनि इटालियाली क्षेत्र यो मापदण्डमा पर्न सफल भएको पाइदैन ।

सरकारले इटलीका २० वटै क्षेत्रमा आन्तरिक भ्रमणका लागि पनि आगामी फेब्रुअरी १५ सम्म रोक लगाएको छ । इटलीको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको पछिल्लो तथ्यांक अनुसार इटलीमा बुत्रबारमात्र १५ हजार ७७४ थप व्यक्ति कोभिड संक्रमित भएका छन् भने ५०७ जनाको मृत्यु भएका छन् । यससँगै अहिलेसम्म इटलीमा संक्रमित हुनेको संख्या पाँच लाख ६४ हजार ७७४ पुगेको छ भने कूल ८० हजार ३२६ संक्रमितको मृत्यु भएको छ ।

इटलीमा बुधबार रातिसम्ममा कूल आठ लाख ८५ हजार ८१४ व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया