अत्तरिया, १४ फागुन : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संस्कृति बलियो भए मुलुक बलियो हुने बताएका छन् ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको विश्व साहित्य महोत्सवका अवसरमा आज धनगढीमा बोल्दै उनले साहित्य, कला र संगीतले संस्कृति बन्ने गरेको छ भने । उनले संस्कृति कमजोर रहेको मुलुकमा मुलुकवासी र मुलुक कमजोर हुने गरेको टिप्पणी गरे ।
पूर्वप्रधानमन्त्री चन्दले पछिल्लो समयमा संस्कृतिमाथि आक्रमण नै नभएपनि संस्कृतिमाथि खतरा बढेको दाबी गरे । ‘हाम्रो संस्कृतिमाथि आक्रमण नै भइसकेको छैन’, उनले भने, ‘तर आक्रमण हुन सक्छ ।’ संस्कृति संरक्षणका लागि ध्यान दिनुपर्ने बेला आइसकेको बताउँदै पूर्वप्रधानमन्त्री चन्दले नयाँ पिढीलाई संस्कृति जोगाउन सतर्क बनाउनुपर्ने बताए ।