कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने

  पुष २२, २०७७

काठमाडौं, पुस २२ : महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालन हुने भएको छ । अस्पतालले बालबालिकाको लागि मानसिक स्वास्थ्य सेवाको ओपिडि यसअघि सुरु गरिसकेको छ ।

बुधबार अस्पतालको ५९ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य केन्द्रको भवनको उद्घाटन गर्नुभयो ।

बालबालिका तथा किशोरकिशोरीमा पनि मानसिक समस्या हुने भएकोले देशको एक मात्र बाल अस्पतालको रुपमा परिचित कान्तिबाल अस्पतालले उक्त मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले आफ्नो दायित्वमा तीनवटा काम प्रमुखताका साथ सम्पन्न गर्ने बताउनुभयो । उहाँले कोरोना विरुद्धको खोप सम्र्पूण जनतालाई उपलब्ध गराउने,भर्खरै सबै पालिकामा शिलान्यास भएका अस्पताल निर्माणलाई पूरा गर्ने र कर्मचारीको समायोजनलाई टुंग्याउने काम गर्ने बताउनुभयो ।

सरकारी अस्पताललाई अस्पतालका निर्देशक डा.कृष्ण पौडेलले बालबालिका र किशोर किशोरीको मानसिक उपचारका लागि समस्या हुने गरेको भन्दै अस्पताल परिषरमा मानसिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि त्यो समस्या नहुने बताउनुभयो । उहाँले हालसम्म अस्पतालले गरेका कार्यको प्रगति विवरण पेश गर्नुभएको थियो । निर्देशक पौडेलले कोरोनाका कारण अस्पताललाई आर्थिक भार परेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले कान्ति अस्पताललाई महानगरले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति, डा. डी.एन. शाहले कान्तिले ल्याएको शैक्षिक कार्यक्रमलाई न्याम्सले सहयोग गर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ, डा.रोशन पोखरेलले स्वास्थ्य मन्त्रालयले जस्तोसुकै अवस्थामा पनि मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । साे भवन बाल मजदुर सरोकार केन्द्र, (सिविन),फोरुट नर्वे , नर्वेली सरकार को सहयोगमा निर्माण भएकाे हो । 

तपाईको प्रतिक्रिया