काठमाडौँ, पुस ७ : सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड- वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आफ्नो पक्षमा बढीभन्दा बढी केन्द्रीय समिति सदस्यहरू देखाउनका लागिपरेका छन् ।
दुवै पक्षले मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । ओलीले पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजे केन्द्रीय समिति बैठक बोलाएको छ भने प्रचण्ड-नेपाल पक्षले दिउँसो १ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने तय गरेको छ ।
बालुवाटारमा ९ बजे बोलाइएको ओली पक्षका केन्द्रीय सदस्यहरूको बैठक अझै सुरु नभएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार बढीभन्दा बढी केन्द्रीय सदस्य जम्मा गर्नका लागि काम भइरहेकाले केही समय ढिलोगरी मात्रै बैठक सुरु हुने बताए । ‘हामी बैठकस्थलमा नै छौं । बढीभन्दा बढी केन्द्रीय सदस्यहरू जुटाउन लागेका छौं, बैठक केही ढिलोगरी सुरु होला,’ ओलीनिकट ती केन्द्रीय सदस्यले भने ।
प्रचण्ड-नेपाल पक्षले भने आफ्नो पक्षमा सबै केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । ‘सबै केन्द्रीय सदस्यहरू पार्टीको पक्षमा हुनुहुन्छ । सबै आउनुहुन्छ,’ केन्द्रीय सदस्य यज्ञबहादुर सुनुवारले भने ।
सरकारले संसद् विघटनको प्रस्ताव गरेर राष्ट्रपतिले उक्त प्रस्ताव स्वीकार गरेसँगै नेकपा विभाजनतिर लागेको हो । आज बस्ने प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कारबाही गर्ने कार्यसूची तय गरेको छ भने ओली पक्षले प्रचण्डलाई कारबाही गर्ने भएको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।






