काठमाडौं, पुस ५ : दक्षिणी टर्कीस्थित कोरोनाभाइरसका बिरामीहरूको उपचार भइरहेको एउटा अस्पतालमा अक्सिजन भेन्टिलेटर पड्किँदा नौ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।
उक्त विस्फोटनले गाजियान्टेपस्थित सान्को विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको स्थानीय गभर्नरको कार्यालयले जनाएको छ।
अर्को अस्पतालमा सार्ने क्रममा कम्तीमा एकजना बिरामीको ज्यान गएको थियो। टर्कीमा हालसम्म २० लाखभन्दा धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण फेला परिसकेको छ।
कोभिड-१९ का कारण त्यहाँ १७,६१० जनाको ज्यान गइसकेको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ।
शनिवार सबेरै भएको उक्त घटनापश्चात् लागेको आगलागीमा अरू थप घाइते भएका छैनन्। आगो चाँडै नै निभाइएको थियो।
मारिनेहरूमा ५६ देखि ८५ वर्ष उमेरका बिरामीहरू रहेको र विस्फोटनको कारणबारे अनुसन्धान थालिएको अस्पतालले जनाएको छ।






