नेकपा अध्यक्ष प्रचण्ड र नेता ज्ञवालीबीच छलफल

  कार्तिक १४, २०७७

काठमाडौं, कात्तिक १४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले शुक्रबार विहान भेटघाट गर्नुभएको छ । नेकपाका दुई अध्यक्षबीचको संवाद हुन नसकिरहेकाबेला अध्यक्ष प्रचण्डसँग मन्त्री ज्ञवालीले छलफल गर्नुभएको हो ।

अध्यक्ष प्रचण्ड केही दिनदेखि घरमै कन्ट्रयाक्ट ट्रेसिङमा हुनुहुन्छ । नेता जनार्दन शर्मासहितका केही नेताको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उहाँहरुसँग नियमित छलफलमा रहनुभएका अध्यक्ष प्रचण्ड केही समयका लागि घरमै बस्नुभएको उहाँको प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।

अध्यक्षसँग नेता ज्ञवालीको समसामयिक विषयमा छलफल भएको र उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रेस सल्लाहकार सापकोटाले बताउनुभयो । उहाँकाअनुसार अध्यक्ष प्रचण्डलाई भेट्न विहान साढे ८ बजेतिर परराष्ट्रमन्त्री ज्ञवाली खुमलटार पुग्नुभएको थियो ।

नेकपाका दुई अध्यक्षबीच केही समय यता संवाद हुन नसकिरहेका बेला सञ्चार माध्ययममा विभिन्न एङ्गलबाट समाचार आए पनि कन्ट्रयाक्ट ट्रेसिङमा अध्यक्ष बस्नुभएपछि दुई अध्यक्षबीच छलफल हुन नसकेको प्रेस सल्लाहकार सापकोटाले बताउनुभयो । अध्यक्ष प्रचण्डसँग विहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले छलफल गर्नुभएको सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया