नेकपा केन्द्रीय कमिटी बैठक स्थगित, मंसिर १५ देखि १७ गते बस्ने

  कार्तिक १२, २०७७

काठमाडौं, कात्तिक १२ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण स्थगन भएको छ ।

नेकपा केन्द्रीय कार्यालय सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।

जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ, स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिनेछ ।

महासचिव विष्णु पौडेलले पार्टीका दुवै अध्यक्षसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार परामर्श गर्नुभएपछि दुवै अध्यक्षको सुझावअनुसार बैठक स्थगित भएको हुनसक्ने केन्द्रीय सदस्यहरुको बुझाई छ ।

तपाईको प्रतिक्रिया