कोभिड–१९ नियन्त्रण नियम उल्लङ्घन गरेको आरोपमा लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना

  कार्तिक १०, २०७७

लन्डन, कात्तिक १० : बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले आइतबार उल्लेख गरेको छ ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको छ । प्रहरीले आफूहरूलाई स्थानीय वासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लङ्घन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो । विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानून अनुसार जरिवाना हुनसक्ने बताइएको छ ।

पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, “यो घटना कोभिड–१९ कानुनको जानाजानी उल्लङ्घन भएको र यसका कारण सङ्क्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।” विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले सामाजिक दूरीकायम नगरेको देखिएकोले जरिवानाका लागि सिफारिस गरिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया