निर्णय नै नभइ यति अर्ब खाए भन्नु गैरजिम्मेवार अभिब्यक्ति : प्रधानमन्त्री

  असोज ३०, २०७७

काठमाडौँ, असोज ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित स्रोत साधनबीच पनि नेपाल प्रहरीले अपराध अनुसन्धान तथा शान्तिसुरक्षा अमनचयन कायम राख्न निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय रहेको बताउनु भएको छ ।

६५ औँ प्रहरी दिवसको अवसरमा शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले कोरोना महामारीसँगै मुलुकमा विभिन्न किसिमका अपराधका घटना बढीरहेकाले त्यस्ता घटना हुनै नदिनतर्फ प्रहरी चनाखो हुनु पर्ने बताउनुभयो ।

अपराधका घटनाले भौगोलिक सीमाको पर्खाल समेत तोडी सकेको चर्चा गर्दै, प्रधानमन्त्री ओलीले भन्नुभयो–‘स्रोत साधन सीमित छ, तरपनि प्रहरीले राज्य तथा नागरिकको ज्यूधनको सुरक्षाका लागि प्रहरी हर– प्रहर तैनाथ छ ।

जुन कार्य आफैंमा प्रशंसनीय छ ।’

कतिपय ब्यक्ति तथा समूहबाट संविधान विपरितका कार्य भइरहेको स्मरण गराउदै उहाँले विधिको शासनमा अतिवादी तथा संविधान विपरितका क्रियाकलाप नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । महिलामाथि एसिड छ्याप्ने र बलात्कार जस्ता अपराध नियन्त्रण गर्न ‘कडा’ कानुन बनाइने जानकारी उहाँले दिनुभयो ।

त्यस्तैं, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले केही हप्ताअघि बुढीगण्डकी आयोजनामा शीर्षनेताले ‘घुस’ लिएको विषयमा दिएको अभिब्यक्तिप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले गैरजिम्मेवार र जनमानसमा भ्रम छर्नलाई भएको भन्दै आपत्ती जनाउनु भएको छ ।

आयोजना निर्माणका विषयमा कुनै निर्णय नै नभइसकेको अवस्थामा यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो उहाँले थप्नुभयो । सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको चर्चा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।

गृहमन्त्री रामबहादर थापाले औंलामा गन्न सकिने त्रुटिगत कमजोरी देखाएर सिंगो प्रहरी संगठनको बदनामी गराउने कार्य खेदजनक रहेको भन्दै प्रहरीलाई कानुन प्रदत्त जिम्मेवारी र अधिकार प्रयोगमा कहिल्यै पछाडि नहट्न निर्देशन दिनुभयो ।

‘दोषजति अरुलाई थुपार्ने, प्रहरीप्रति सदैव नकारात्मक भ्रम छर्ने, यस्तो आलोचनात्मक सोचबाट निर्देशित हाम्रो समाजमा प्रहरीले निर्भिक र दृढताका साथ जिम्मेवारी वहन गर्न सक्नुपर्छ’ उहाँले भन्नुभयो–त्रुटिरहित ढंगले कार्यसम्पादन गर्नुहोस ।

कोरोना सङ्क्रमण महामारीका बीचमा पनि प्रहरीले शान्तिसुरक्षा, अपराध नियन्त्रण र सर्वसाधारण नागरिकको सेवामा पु¥याएको योगदान प्रसंशनीय रहेको चर्चा गर्दै विभिन्न समयमा कर्तब्य पालना तथा शान्तिसुरक्षा अमनचयन कायम राख्ने क्रममा ज्यान गुमाउने अमर तथा सहीद प्रहरी कर्मचारीप्रति श्रद्धानजलि ब्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोरोना महामारीका कारण यसको वर्षको प्रहरी दिवस औपचारिकतामा मात्र सीमित गरिएको बताउनुभयो । कार्यक्रममा संगठनका पूर्व तथा वहालवाला सदस्यहरुलाई आमन्त्रण गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय परिसरमा रहेको अमर तथा सहीद प्रहरी स्मारकमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक थापाक्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र पूर्वप्रहरी महानिरीक्षकहरूले श्रद्धान्जलि अर्पण गर्नुभएको थियो ।

गाेरखापत्र

तपाईको प्रतिक्रिया