काठमाडौं, असोज २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ती र जिम्मेवारी हेरफेर गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैँले लिनुभएको छ भने उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ ।
रिक्त अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा पार्वत गुरुङ, शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीलानाथ श्रेष्ठ नियुक्त हुनुभएको छ । पौडेल, कृष्णगोपाल र लीलानाथ वर्तमान सरकारमा नयाँ प्रवेशी हुनुभएको छ । अन्य मन्त्री र उहाँहरुको कार्यभार यथावतै छ ।
यसअघि गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्थ्यो । सो मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाउनुभएको छ । तीनवटा मन्त्रीहरु थपिनु भएपछि अब मन्त्रालयको संख्या २५ पुगेको छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ, “२०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ती हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद गठन गर्नुभएको छ ।”
नयाँ जिम्मेवारी पाउनुभएको मन्त्रीहरुको शपथ कार्यक्रम विहिबार विहान ११ः३० बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।







