काठमाडौँ, असोज २८ : दशैँ तिहारसहित ठूला चाडपर्वलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले ट्राफिक सुरक्षा योजना सार्वजनिक गरेको छ । यो वर्ष ट्राफिक प्रहरीलाई कोभिड – १९ को जोखिमकै बीच ट्राफिक सुरक्षा योजना सार्वजनिक गरेको हो ।
सडक दुर्घटना कम गर्न, यात्रुलाई ठगिनबाट जोगाउने महत्वपूर्ण योजनासहित चाडपर्व सुरक्षा योजना सार्वजनिक गरेको प्रहरीले जनाएको छ । ‘लामा तथा छोटा दूरीका सवारी साधनहरूका लागि अत्यावश्यक कुरामा ध्यानमा दिएर योजना सार्वजनिक गरेका छौँ’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले भन्नुभयो ।
‘लामो दूरीमा चल्ने सवारी साधनमा दुई जना चालक र सवारी साधनभित्रै भाडादरको सूची अनिवार्य भए–नभएको हेर्न अनुगमन गर्नेछौँ’ एसएसपी ढकालले भन्नुभयो । विगत वर्षहरूमा जस्तै यो वर्ष पनि विशेष गरेर लामो दुरीमा चल्ने सवारी साधनलाई बसपार्कबाट बाहिरिनुअघि यान्त्रिक परीक्षण अनिवार्य गर्र्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग छलफल भइसकेको उहाँले बताउनुभयो ।
‘स्वास्थ्य मापदण्ड पालना नगर्ने, यात्रुसँग तोकिएकोभन्दा धेरै भाडा लिने र बीच बाटामै यात्रुलाई छाडेर हिँड्ने सवारी साधनहरू उच्च निगरानीमा हुनेछन्’ उहाँले स्पष्ट पार्नुभयो । ट्राफिक कम्युनिकेसन एपको प्रयोग गरेर लामो दूरीमा चल्ने सवारी साधनहरूमा दुई जना चालक भए–नभएको निगरानी गरिनेछ ।
बसपार्क तथा भाडाका सवारी साधनको टिकट काटिने ठाँउहरूमा सबै यात्रु तथा सरोकारवाला निकायका व्यक्तिहरूले देख्ने ठाउँमा भाडा रकमको सूची अनिवार्य रुपमा राख्नुपर्ने र टिकट काट्ने सम्बन्धित यातायात कम्पनीका व्यक्तिहरूले अनिवार्य रुपमा परिचयपत्र तथा पोशाक लगाउने र एक यात्रुलाई टिकट काटिसकेको सिटका लागि अर्काे व्यक्तिलाई झुक्याएर फेरि टिकट काटेमा ठाउँको ठाउँ कारबाही गरिने उहाँले बताउनुभयो ।
‘ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने यात्रुवाहक सवारी साधनको छतमा सामान राख्न पाइँदैन । जिकज्याक गरेर सवारी साधन चलाएमा ठाउँको ठाउँ कारबाही गरिनेछ’ ढकालले भन्नुभयो । ट्राफिक प्रहरीले बिहान, दिउँसो, साँझ र रातिको समयमा चारपटक विशेष चेकजाँच सञ्चालन गर्ने एसएसपी ढकालले बताउनुभयोे । दिउँसोको समयमा मापसेको चेकजाँच कार्य शुरु गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार कोभिडको कारणले रोकिएको मापसे चेकजाँच नियमित रुपमा गरिनेछ ।
लामो दूरीमा चल्ने सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको लागि प्रहरीले बसपार्कसहित बढी भीडभाड हुने स्थानहरूमा सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटाइसकेको छ । एक साताअघि नै कोटेश्वर तथा बसपार्कमा धेरै भाडा रकम लिने सवारी साधनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
ट्राफिक प्रहरीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सात दोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायत ठाउँमा यात्रु सहायता कक्ष राख्ने तयारी गरेको छ ।
‘यात्राको क्रममा आफू ठगिएको र समस्यामा परेमा तत्कालै १०३ मा फोन गर्नुहोस् ।’ एसएसपी ढकालले यात्रुहरूलाई आग्रह गर्नुभयो । महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा तीन हजार सात सयभन्दा धेरै प्रहरी परिचालन गर्ने भएको छ । यो दशैँमा राजधानीमा तालिमप्राप्त कुकुरहरूको समेत परिचालनको तयारी गरिएको छ ।
दशैँको सुरक्षाको लागि सादा पोसाकमा प्रहरी, दिउँसो तथा रात्रिकालीन गस्ती, सादा पोसाक, एरिया सर्च, सवारी गस्ती, सेफ्टी पिन गस्ती, पैदल गस्ती, क्युआरटी गस्ती गरी नेपाल प्रहरीका तर्फबाट काठमाडौँमा तीन हजार ७०७ जना प्रहरी दसैँ सुरक्षाका लागि खटाउन लागिएको छ ।
सादा पोसाकमा मात्रै ३८ समूह बनाएर परिचालनको तयारी गरिएको छ र ९६ वटा क्युआरटी टोली मोटरसाइकलमा परिचालन गर्ने तयारी छ । त्यस्तै २४ मोबाइल गस्ती तथा ६० टोलीले पैदल गस्तीमार्फत सुरक्षा गर्ने गोरखापत्र अनलाइनमा उल्लेख छ ।






