दुई विमानस्थल वर्षौंदेखि प्रयोगविहीन

  असोज २४, २०७७

सोलुखुम्बु, असोज २४ : सोलुखुम्बुका दुई विमानस्थल वर्षौंदेखि प्रयोगविहीन छन् । नेपालको सबैभन्दा बढी पाँचवटा विमानस्थल भएको जिल्लामा दुईवटा मात्रै विमानस्थल सञ्चालनमा छन् भने एउटा निर्माणाधीन छ ।

जिल्लाको तल्लो क्षेत्रको घना बस्तीलाई लक्षित गरी बनाइएको काँगेल डाँडा विमानस्थल प्रयोगमा नआउँदा करिब सात वर्षदेखि गौचरनका रूपमा प्रयोग हुँदै आएको छ । नेचासल्यान, थुलुङ दूधकोसी, महाकुलुङ, सोताङ गाउँपालिका तथा खोटाङका केही भागका नागरिकलाई सहजताका लागि काँगेल डाँडामा करोडौँको लगानीमा विमानस्थल निर्माण गरिएको थियो ।

अहिले विमानस्थल रेखदेखका लागि नागरिक उड्डयन प्राधिकरणले एक सुरक्षाकर्मी भने खटाइरहेको छ । सङ्घीय सरकार मातहत रहेको विमानस्थल प्रदेश सरकार मातहत ल्याई काँगेल–विराटनगर उडान गराउने भनिए पनि समयमै काम गर्न नसक्दा उडान सुरु गर्न नसकिएको प्रदेश सांसद उत्तमकुमार बस्नेतले बताउनुभयो ।

काँगेल डाँडा विमानस्थलसम्म आउनका लागि गाउँगाउँमा सडक विस्तार सकिएको, दूधकोसी र सोलुखोला लगायतका मुख्य नदी खोलामा मोटरेबल पुल निर्माण थालिएकाले चाँडै उडान सुचारु गराउन पहल गरिरहेको उहाँको भनाइ छ । त्यस्तै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्रमा पर्ने नेपालकै अग्लो स्थानको स्याङ्बोचे विमानस्थलमा पनि १२ वर्षदेखि उडान बन्द भएको छ । करिब ६० वर्ष पहिले नै निर्माण भई सञ्चालनमा आएको उक्त विमानस्थलमा अहिले कुनै पनि हवाई उडान तथा अवतरण हुन सकेको छैन ।

अहिले त्यस विमानस्थललाई हेलिकप्टरले सामान ढुवानीका लागि प्रयोग गर्दे आएको छ । खुम्बु क्षेत्रमा आवश्यक खाद्यान्नलगायत अन्य सामग्री हेलिकप्टरमार्फत विमानस्थलमा झारिने भए पनि हवाई उडान ठप्प हुँदा स्थानीय यात्रुले आवतजावत गर्न हेलिकप्टरमा महँगो भाडा तिर्नुपरेको छ ।

सामानको भाउमा भाडा तिरेर यात्रु आवतजावत गर्दछन् । स्याङ्बोचे विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्नसके लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा हुने उडानको चापसमेत घट्ने नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । स्थानीयवासीले विमानस्थल सुचारु गर्न पटकपटक माग गरे पनि उडान हुन सकेको छैन ।

सगरमाथा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने जग्गामा धावन मार्गलाई लम्ब्याएर सञ्चालन गर्नसके खुम्बु क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने खुम्जुङका पासाङछिरिङ शेर्पाको भनाइ छ । फाप्लु विमानस्थल र लुक्लाको तेन्जिङ हिलारी विमानस्थल भने सञ्चालनमा छन् भने महाकुलुङ विमानस्थल निर्माणका क्रममा रहेको छ ।  

तपाईको प्रतिक्रिया