कठमाडौं, असोज १३ : संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु कामदारसँग सम्बन्धीत छुट्टै सेवा, शर्त र सुरक्षा सम्बन्धमा ठोस् कानुनी व्यवस्था भएका मुलुकहरुमा द्विपक्षीय सम्झौता गरेर मात्रै घरेलु कामदार खुल्ला गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले सम्बन्धीत द्विपक्षीय सम्झौता गरेर मात्रै घरेलु कामदार खुल्ला गर्न निर्देशन दिएको हो ।
घरेलु कामदार लान चाहाने देशमा घरेलु कामदारको सेवा, शर्त र सुरक्षा सम्बन्धमा छुट्टै व्यवस्था गर्नुपर्ने समितिको भनाइ छ । साथै, ठोस कानुन व्यवस्था रहेको अवस्थामा भने पठाउन सकिने समितिले निष्कर्ष निकालेको छ ।
कामदारको पारिश्रमिक, विदा, सामाजिक सुरक्षा, व्यवसायजन्य सुरक्षा, स्वास्थ्य सुरक्षा, २४ घण्टे बिमा र अतिरिक्त कामको थप सुविधा सुनिश्चित गरेर मात्रै पठाउनुपर्ने जनाएको छ । यसैगरी घरेलु श्रमिक पठाउनुपूर्व काम सम्बन्धि आधार तालिम, जाने मुलुकमा बोलिने भाषा, परम्परा, संस्कार र संस्कृतिको बारेमा आधारभूत जानकारी हासिल गरेको हुनुपर्ने जनाएको छ ।
त्यस्तै काम सुरु गर्नु अगाडी अनिवार्य तालिम दिने व्यवस्था हुनुपर्ने, रोजगारदाता र कामदारबीच सेवा, शर्त र सुरक्षाको वातावरणमा भेदभाव नभएको अवस्थामा मात्रै पठाउनुपर्नेमा समितिले स्पष्ट पारेको छ ।
घरेलु कामदारमाथि शारीरिक, मानसिक र यौनजन्य हिंसा गर्ने स्पोन्सर, मालिक वा घरिवारको सदस्यलाई कडा कारवाही गर्ने व्यवस्था गर्नुपर्ने जनाएको छ । साथै, घरेलु कामदारले सहज तरिकाले आफ्नो परिवार र दुतावाससँग सम्पर्क गर्ने अवस्थामा मात्र पठाउन समितिले निर्देशन दिएको छ ।
साथै, अवैध बाटोबाट लग्दै मानव बेचबिखन कार्यमा संलग्न म्यानपावरको दर्ता खारेज गरी कारवाही गर्न पनि समितिले माग गरेको छ ।
खाडीमा घरेलु कामदार पठाउन प्रतिवन्ध लगाएपछि अवैध तरिकाबाट पठाउने कार्यमा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय र सम्बन्धित निकायका कर्मचारीमाथि छानबिन गरी कडा कारवाही गर्न समितिले गृह र श्रम र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको उल्लेख गरेको छ ।
यस्तै क्लिनिङ, सेल्स वर्कर वा पर्यटक भिसामा कामदार लगेर विदेशमा घरेलु श्रमिकको रुपमा काम लगाइएको पाइएमा पठाउने व्यक्ति वा म्यानपावर कम्पनीलाई पनि कडा कारवाही गर्न समितिले निर्देशन दिएको छ ।
तत्कालनीन संसदको अन्तराष्ट्रिय श्रम सम्बन्ध समितिले २०७३ सालदेखि घरेलु कामदार पूर्ण रुपमा प्रतिवन्ध लगाउन निर्देशन दिएको थियो ।






