धादिङ/मकवानपुर, असोज ८ : दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ ।
जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताउनुभयो ।
राजमार्गमा पहिरो आएको र केही स्थानमा सडक भासिएपछि यातायातका साधन चल्न कठिनाइ भएको छ । सडक विभागको डोजरले राजमार्गमा आएको पहिरो पन्छाउँदै गरेको भए पनि अविरल वर्षाले गर्दा माथिबाट पहिरो झरिरहेको छ ।
राजमार्गमाथि बनाइएका शाखा सडक खन्दा व्यवस्थापनमा ध्यान नदिइएका कारण राजमार्ग अवरुद्ध हुने गरी पहिरो आइरहेकाले सडक विभाग छिटो राजमार्ग सञ्चालनमा खटिएको जनाइएको छ ।
धादिङ खण्डमा ७४ शाखा सडक खनेका कारण राजमार्ग सानो पानी पर्दा पनि पहिरो र लेदो झरेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।
जताततै पहिरो आएका कारण सडकमा एकतर्फी यातायात सञ्चालन भएको छ । सडकका विभिन्न स्थानमा डोजरलाई तयारी अवस्थामा राखिएको छ । प्रहरीले सवारी साधनलाई सुरक्षित भएर मात्र यात्रा अघि बढाउन सुझाव दिएको छ ।
त्रिभुवन राजपथ अवरुद्ध
अविरल वर्षाका कारण भीमफेदी गाउँपालिका–९ मा पर्ने डण्डाखोला नजीकै मध्याह्न १२ बजे पहिरोे जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । पहिराले सडक अवरुद्ध भएपछि सो राजमार्गअन्तर्गत हेटौँडाबाट धादिङ जिल्लाको नौबिसे हुँदै काठमाडौँ उपत्यकासम्म सञ्चालन हुने यातायात सेवासमेत अवरुद्ध भएको छ ।
पहिरो हटाउने प्रयास भइरहेको र पन्छाउन दिनभर लाग्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले बताउनुभयो ।
त्यसैगरी भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिराजपथका विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण मकवानपुरको जनजीवन प्रभावित बन्दै गएको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको छ । यसैबीच राक्सिराङ गाउँपालिकामा पहिराले पशुचौपायासमेत पुरेको खबर आएको छ ।






