थप ११ सय ५४ जनामा कोरोना संक्रमण, १ हजार ५ संक्रमणमुक्त

  असोज ०५, २०७७

काठमाडौं, असोज ५ : नेपालमा कोरोनाभाइरसका एक हजार १५४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार १५४ जना  जना सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा महिला ४१८ र पुरुष ७३६ जना रहेको जानकारी दिनुभयो । आज नौ हजार ५३३ जनाको पिसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण देखिएको छ ।

एक हजार पाँच सङ्क्रमणमुक्त
यस्तै विगत २४ घण्टामा एक हजार पाँच जना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको छ । अहिलेसम्म ४७ हजार २३८ जना सङ्क्रमित निको भई घर फर्किसक्नुभएको छ । यसरी सङ्क्रमणमुक्त भई घर फर्किेने कुल सङ्क्रमितको ७२.४ प्रतिशत हो ।

यस्तै सक्रिय सङ्क्रमित १७ हजार ६११, होमआइसोलेसनमा रहेका आठ हजार ६९०, संस्थागत आइसोलेसनमा आठ हजार ९२१ र क्वारन्टिनमा सात हजार ४०३ जना रहनुभएको छ ।

१९६ आइसियु र ३१ भेन्टिलेटरमा
यसैगरी सघन उपचार कक्ष (आइसियु)मा १९६ र भेन्टिलेटरमा ३१ जनाले उपचार गराइरहनुभएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । आइसियुमा प्रदेश नं. १ मा १०, प्रदेश नं. २ मा १६, वाग्मती प्रदेशमा १२८, गण्डकी प्रदेशमा पाँच, प्रदेश नं. ५ मा २२ र कर्णाली प्रदेशमा १५ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश १ मा एक, वाग्मती प्रदेशमा २८ र प्रदेश नं. ५ मा दुई जना रहेका छन् ।

तपाईको प्रतिक्रिया