पूर्वमन्त्री थापालाई आदिकवि ‘रेख सारु मगर’ साहित्य पुरस्कार

  भदौ २९, २०७७

दमौली, भदौ  २९ : आदिकवि रेखबहादुर ‘सारु मगर स्मृति तथा साहित्य’ पुरस्कार पूर्वमन्त्री शिवलाल थापा मगरलाई प्रदान गरिने भएको छ ।

आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा साहित्य प्रतिष्ठान र नेपाल मगर लेखक सङ्घ गण्डकी प्रदेश समितिले मगर भाषाका आदिकवि रेखबहादुर सारु मगरको ७७औँ जन्मजयन्तीको अवसरमा उक्त पुरस्कार घोषणा गरेको हो ।

तनहुँको दमौली निवासी पूर्वमन्त्री थापालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रु सात हजार रहेको साहित्य प्रतिष्ठानका अध्यक्ष खड्ग पामी आले मगरले जानकारी दिनुभयो । पूर्वमन्त्री थापाले मगर भाषामा सात वटा पुस्तक प्रकाशित गर्नुभएको छ ।

प्रतिष्ठानले यस वर्षदेखि आदिकवि रेखबहादुर सारु मगर स्मृति तथा नवप्रतिभा पुरस्कार समेत प्रदान गर्ने भएको छ । उक्त पुरस्कार रोल्पाका बेलबहादुर बुढा मगरलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । मगरले खाम भाषामा दुई वटा पुस्तक प्रकाशित गर्नुभएको छ ।

दुवै पुरस्कार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रमका अवसरमा घोषणा गरिएको हो । कोभिड–१९ को सङ्क्रमण कम भएपछि एक कार्यक्रमकाबीच उक्त पुरस्कार हस्तान्तरण गरिने प्रतिष्ठानले जनाएको छ ।

तपाईको प्रतिक्रिया