हेटौँडा, भदौ २४ : बागमती प्रदेशका सङ्घीय अनुदान प्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण सुरु भएको छ । प्रदेशका चार जिल्लाका छवटा स्थानीय तहमा गत आर्थिक वर्ष २०७६-७७ मा नेपाल सरकारले औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो ।
त्यसअनुसार काभ्रेपलाञ्चोकमा तीन, मकवानपुर, चितवन र दोलखामा एक÷एकवटा औद्योगिक ग्राम स्थापना गर्नेगरी सरकारले ९२ लाख रुपियाँ बजेट पनि विनियोजन गरेको थियो । सरकारले सडक स्तरोन्नति, कम्पाउन्ड, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार, वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए), खानेपानीलगायतको व्यवस्था गर्न बजेट विनियोजन गरेको हो ।
पाँचखालको नमुना काम
धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका र रोसी गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि काम सुरु भएको छ । तीनवटै पालिकाले जग्गा व्यवस्थापन गरेका छन् । धुलिखेल र रोसीले औद्योगिक ग्राम मात्र बनाउने भएको छ । यस्तै पाँचखालले भने प्रथम महिला उद्यमी तथा हरित औद्योगिक ग्राम बनाउने सम्झौता गरेर काम अगाडि बढाएको छ ।
पाँचखाल नगरपालिकाका शाखा अधिकृत राजेश बन्जाराले गत वर्ष भदौ २० गते प्रथम महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापनाका लागि पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्घ नेपालबीच त्रिपक्षीय सम्झौता भएर काम भइरहेको बताउनुभयो ।
६० लाख रुपियाँभन्दा माथि खर्च गरेर औद्योगिक ग्रामका लागि सडक स्तरोन्नति, खानेपानी ट्याङ्की निर्माण सकिएको तथा मूल ग्रामका लागि डीपीआर तयार भइरहेको बन्जाराले बताउनुभयो । प्राविधिक कर्मचारीको अभावमा कार्यान्वयन चरण जटिल रहेको उहाँको भनाइ छ ।
नगरप्रमुख महेश खरेलले पाँचखाल नगरपालिका–७ मा ९८ रोपनी जग्गा २५ वर्षका लागि उपलब्ध गराउने सम्झौता भएअनुसार काम भइरहेको बताउनुभयो । महिलाले मात्र उद्योग सञ्चालन गर्ने उक्त औद्योगिक ग्रामको पूर्वाधार निर्माणमा सङ्घीय तथा प्रदेश सरकार तथा अन्य निकायबाट हुने आवश्यक सहयोग र अनुदान लिने सम्झौता भएको थियो ।
त्यस्तै धुलिखेल नगरपालिकाले वडा नं. १० शारदा बतासेको पिङडाँडाको जग्गामा औद्योगिक ग्रामको काम सुरु गरेको छ । नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईंले औद्योगिक ग्राम बनाउन १४८ रोपनी क्षेत्रफल समेटिएको बताउँदै सडक निर्माण, घेराबार लगाउन टेन्डर आह्वान भएर काम सुरु हुने चरणमा रहेको र भदौ महिनाभित्र डीपीआर तयार हुने जानकारी दिनुभयो ।
त्यस्तै रोसी गाउँपालिका–११, कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी डीपीआर तयार भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले आवश्यक संरचना बनाउन गाउँपालिकाको थप ३४ लाखसहित एक करोड २६ लाख रुपियाँको टेन्डर आह्वान भएको जानकारी दिनुभयो ।
एक ठाउँमा निर्णय, अन्तै बन्दै
चितवनको भरतपुर महानगरपालिका–३ मा औद्योगिक ग्राम बनाउने निर्णय भए पनि महानगरपालिकाले वडा नं. २१ को पार्वतीपुरमा औद्योगिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।
महानगरको वडा नं. ३ को नारायणी नदीको किनारको जग्गाको स्वामित्वका सम्बन्धमा वन कार्यालयसँग विवाद भएपछि यसलाई वडा नं. २१ मा स्थापना गर्न लागिएको महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्वतीपुरमा भएको पाँच बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउन डीपीआर निर्माण भइसकेको छ ।
एक अर्ब रुपियाँभन्दा बढी खर्च गर्नेगरी औद्योगिक ग्रामको डीपीआर बनेको छ, महानगरकी इन्जिनियर अस्मिता खनालले भन्नुभयो । अब वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढाइने र निर्माणको काम सुरु हुने उहाँले जनाउनुभयो । यस्तै बागमती प्रदेश सरकारले महानगरकै वडा नं. २० गुन्जानगरमा औद्योगिक ग्राम बनाउने योजना अघि बढाएको जनाइएको छ ।
भीमेश्वरमा काम सुरु
दोलखाको भीमेश्वर नगरपालिका–७, भुलभुलेमा पहिलो चरणमा एक करोड रुपियाँको लागतमा औद्योगिक ग्रामको पूर्वाधार निर्माणको काम सुरु हुने भएको छ । गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत जनश्रमदानसहित ९८ लाख रुपियाँमा औद्योगिक ग्रामको पूर्वाधार निर्माणको काम सुरु गरिएकामा सम्झौता अनुरूप निर्माण हुन नसकेकाले यो वर्ष ठेक्कामार्फत एक करोड रुपियाँमा काम सुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्घीय सरकारबाट प्राप्त ९२ लाख रुपियाँमध्ये २७ लाख रुपियाँ गत आवमा पूर्वाधार निर्माणमा खर्च भएको छ । बाँकी ६५ लाखमा नगरले ३५ लाख थप गरी कुल एक करोड रुपियाँको ठेक्का आह्वान गर्ने अन्तिम चरणमा पुगेको छ । निर्माण स्थलसम्म पुग्ने करिब एक किलोमिटर सडकको केही काम भएको छ । यो चरणमा सडक सञ्जाल जोड्ने र निर्माण स्थल सम्याउनेसमेत काम गरिने छ ।
ईआईएसहित तयार भएको डीपीआरअनुसार ६५ रोपनी जग्गामा ३२ करोड ५१ लाख ४९ हजार रुपियाँ लगानी गरी चरणबद्ध रूपमा औद्योगिक ग्राम निर्माण हुनेछ ।
थाहामा सुरु भएन
मकवानपुरको थाहा नगरपालिकामा घोषणा भएको औद्योगिक ग्रामको काम अझै सुरु भएको छैन । सरकारले थाहा नगरपालिका–३, दमारचौरमा औद्योगिक ग्राम स्थापनाको घोषणा गरे पनि सामुदायिक वन क्षेत्रको जग्गा परेपछि थाहा नगरपालिका–११ स्थित टिस्टुङमा औद्योगिक ग्राम स्थापना गरिने भएको छ ।
थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी औद्योगिक ग्राम स्थापना गर्न जग्गाको पहिचान भइसकेको बताउनुहुन्छ । सरकारले गत फागुनमा ९२ लाख रुपियाँ बजेट निकासा गरेकामा डीपीआर बनाउने तयारी गर्दागर्दै बन्दाबन्दी घोषणा भएकाले काम सुरु हुन नसकेको उहाँले बताउनुभयो ।
औद्योगिक ग्रामको डीपीआर तयारीसहित औद्योगिक ग्रामको पूर्वाधार निर्माण गर्न बात्रमती प्रदेश सरकारले पनि तीन करोड रुपियाँ दिने जनाइएको छ । “औद्योगिक ग्रामको डीपीआर तयार नभएकाले कति जग्गा चाहिने र औद्योगिक ग्रामको स्वरूप कस्तो हुन्छ भन्ने अहिले यकिनका साथ भन्न सकिँदैन,” प्रमुख प्रशासकीय अधिकृत पुरीलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनमा उल्लेख छ ।






