स्वरोजगारका लागि ल्याइएका नीतिलाई सरल बनाइने

  भदौ २२, २०७७

काठमाडौँ, भदौ २२ : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले युवालाई स्वरोजगार बनाउन ल्याइएका नीतिलाई सरल बनाइने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले आज आयोजना गरेको स्वरोजगार कोषमा युवाका अवसर विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले स्वरोजगार बनाउनका लागि भएका नीतिगत समस्यालाई चाँडै संशोधन गरेर युवालाई बजेटअनुसार स्वरोजगारमुखी बनाइने बताउनुभयो । यस आर्थिक वर्षमा सङ्घ र प्रदेशले करिब रु ७६ अर्ब युवाका लागि बजेट विनियोजन गरेको छ ।

उहाँले बजेटअनुसार युवालाई जोड्ने कार्य सरकारले गरिरहेको समेत जानकारी दिनुभयो । “विकास र समृद्धिको मेरुदण्ड युवा भएकाले ती युवालाई स्वदेशमा नै कसरी परिचालन गर्ने भन्नेमा सरकार रहेको छ”, उहाँले भन्नुभयो, “युवा नीति श्रम, सीप र उत्पादनसँग जोड्ने गररेर ल्याइने छ, मुलुकको विकासका लागि युवालाई राष्ट्रिय उत्पादनसँग जोडिने छ ।”

उहाँले कोरोना भाइरस (कोभिड–१९)का कारणले युवालाई स्वरोजगार बनाउने काम सूचारु हुन नसकेको भन्दै कोभिड–१९ को सामान्य अवस्था आउने बित्तिकै युवाका क्षेत्रमा काम हुने धारणा राख्नुभयो । उहाँले कोभिड–१९ को कारणले विश्वभर रोजगार गुमाएका युवा नेपाल फर्किएकाले ती युवालाई स्वरोजगार बनाउने चुनौती रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले एकीकृतरूपमा समन्वय गरेर युवालाई स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले युवालाई तालिम तथा ऋण प्रवाह गरेर मुलुकमा नै स्वरोजगार बनाइने बताउनुभयो ।

उहाँले युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय एकै मातहत भए परिमाण निकाल्न सजिलो हुने बताउनुभयो । उहाँले सरकारले घोषणा गरेका युवालाई स्वरोजगार बनाउने कार्यलाई प्रभावकारी कार्यन्वयनका लागि परिषद्ले दबाब दिने जनाउनुभयो ।

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले यस आर्थिक वर्षमा एक लाख ५० हजार युवालाई स्वरोजगार बनाइने बताउनुभयो । यसका लागि कोषले रु १९ अर्ब बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उहाँले एकीकृतरूपमा स्वरोजगार बनाउने कार्यक्रम गर्न सके प्रभावकारीरूपमा हुने बताउनुभयो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीले युवालाई तालिम दिएर परिषद्ले स्वरोजगार बनाउने गरेको बताउनुभयो । उहाँले यसवर्ष २३ हजार युवालाई तालिम दिएर स्वरोजगार बनाउने उल्लेख गर्नुभयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफस्कुन)का अध्यक्ष परितोष पौडेलले स्वरोजगार हुन चाहने युवालाई आफूहरूले ऋण प्रवाह गरिरहेको बताउनुभयो । उहाँले ३५ हजार युवालाई प्रत्यक्ष रूपमा नेफस्कुनले ऋण प्रवाह गरिरहेको जानकारी दिनुभयो ।

युवा तथा साना स्वरोजगार कोषका उपाध्यक्ष डा कल्याण रोकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर कोषले ऋण उपलब्ध गराउने बताउनुभयो । उहाँले पहिले सहकारीमार्फत युवालाई ऋण प्रवाह गरे पनि अब अन्य किसिमले ऋण प्रवाह गरिने बताउनुभयो । उहाँले स्वरोजगरामार्फत अन्यलाई रोजगार बनाउन सक्ने जो सुकैलाई पनि ऋण प्रवाह गर्न सहयोग गर्ने जनाउनुभयो । यस वर्ष कोषले १२ हजार युवालाई स्वरोजगार बनाउने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया