जन्मदिनको अवसरमा मन्त्री भट्टराईद्वारा एसिड पीडितलाई सहयोग

  भदौ २१, २०७७

काठमाडौँ, भदौ २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई ५० हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

कक्षा नौमा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले सो नगद सहयोग गर्नुभएको हो । गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरी घाइते बनाएका थिए । एसिड प्रहारबाट घाइते खातुनको अहिले पनि उपचार जारी छ । मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू प्रभावित भएको बताउनुभयो ।

“मलाई विश्वास छ, तपाईं भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैङ्कमा जम्मा गरेर डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला” उहाँले खातुनलाई भन्नुभयो । पीडित बालिका खातुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालुवाटारमा बोलाएर उहाँको शिक्षाको प्रबन्ध गर्ने बताउनुभएको थियो । जन्मदिनमा भोज भतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भन्दै मन्त्री भट्टराईले पछिल्लो वर्षदेखि आफूले सामाजिक र परोपकारी काममा सहयोग गर्दै आएको बताउनुभयो । २०७२ सालदेखि मन्त्री भट्टराईले नियमित रुपमा आफ्नो जन्मदिनको अवसरमा असहाय, पीडित, विपन्न बालबालिकालाई सहयोग गर्दैआउनुभएको छ ।

२०७२ को भूकम्पमा बाबु गुमाएका काठमाडौँ मनमैजुका बालक विराज अधिकारीलाई उहाँले सहयोग गर्नुभएको थियो । मन्त्री भट्टराईले २०७३ सालको जन्मदिनमा बाबुआमाले लिएको ऋण तिर्न नसकेपछि गोठालो बेसका दोर्जी शेर्पालाई उद्धार गरी काठमाडौँ ल्याएर पढनपाठनको व्यवस्था मिलाउनुभएको थियो । त्यस्तै, २०७४ को जन्मदिनमा दुवै भल्भ फेर्नुपर्ने समस्याबाट पीडित मुटुरोगी ताप्लेजुङका मिलन शेर्पाको उपचारमा सहयोग गर्नुभएको थियो ।

२०७५ को जन्मदिनमा ताप्लेजुङका विपन्न दुई बालक गङ्गा विक र कमल विकलाई अध्ययन खर्चस्वरुप नगद सहयोग गर्नुभएको थियो । गत वर्षको जन्मदिनमा उहाँले पढाइ लेखाइ अप्ठेरोमा परेका दृष्टिविहीन आमाबुबाका सन्तान ताप्लेजुङका समीर राईलाई सहयोग गर्नुभएको मन्त्री भट्टराईका प्रेस सल्लाहकार राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया