कोरोनाबाट विदेशमा थप पाँच नेपालीको मृत्यु, कुल संख्या २ सय पुग्यो

  भदौ २१, २०७७

लन्डन, भदौ २१ : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएको समितिले जनाएको छ । यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया