कोरियन एयरले फिर्ता पठाएका ३९ नेपालीलाई अर्को उडानमार्फत नेपाल पठाइने

  भदौ २०, २०७७

काठमाडौं, भदौ २० : कोरियन एयरले शुक्रबार विमानस्थलबाट फिर्ता पठाएका ३९ नेपालीलाई अर्को उडानमार्फत नेपाल पठाउने भएको छ । शुक्रबार कोरियन एयरको उडानबाट नेपाल फर्किन लागेका २ सय ३८ नेपालीमध्ये ३९ जनालाई कोरियन एयरले विमान स्थलबाटै फर्काएको थियो ।

पिसीआर परीक्षणको रिपोर्टमा त्रुटी भएको, अस्पतालको छाप नभएको र केहीको फोटोकपी मात्रै भएकाले एयरलाइन्सले फर्काएको बताइएको थियो । फर्काएकामध्ये ३४ जनाको कोरोना परीक्षणको रिपोर्टमा त्रुटि भएको, ४ जना अध्यागमन र १ जना उच्च तापक्रमको कारणले गरी ३९ नेपाली नागरिक नेपाल फर्कनबाट बञ्चित रहेको कोरियास्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त विषयमा छलफल हुदाँ अब हुने तत्कालको अर्को उडानमार्फत पुनः उडान शूल्क तिर्नु नपर्ने गरी पिसिआर रिपोर्ट र उच्च तापक्रमको कारणले रोकिएका यात्रुहरूको व्यवस्थापन गर्ने सहमति भइसकेको दूतावासले उल्लेख गरेको छ ।

साथै उपयुक्त ढंगले पिसीआर रिपोर्ट नदिने स्वास्थ्य संस्थालाई एनआरएनका स्थानीय प्रतिनिधिले निशुल्क पुन पिसीआर गराउन समन्वय तथा अनुरोध गर्न दूतावासले आग्रह गरेको छ । नेपाल फर्कन नपाएका यात्रुहरुको अर्को उडान नहुँदासम्मका लागि खान तथा बस्नको व्यवस्थापन भइरहेकको दूतावासले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया