उपत्यकामा १० दिनमा दोब्बर संक्रमित थपिए, काठमाडौंका सात वडा कोरोना ‘हटस्पट’ बन्दै

  भदौ २०, २०७७

काठमाडौं, भदौ २० : काठमाडौं उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन । भदौ ८ गते काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा तीन हजार चार सय ८६ जना सङ्क्रमित थिए ।

राजधानी शहर समेत रहेको उपत्यकामा दैनिक सङ्क्रमित थपिने करिब पाँच सय पुग्न लाग्दा तीनै तहको सरकार सक्रिय बनेको छ । अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब दुई सय पुगेको छ । सङ्क्रमण समुदायमा लक्षित भएपछि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुहुने जनस्वास्थ्यविद् डा. शरद वन्तले नियन्त्रणका लागि नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मीको सहयोग आवश्यक हुने बताउनुहुन्छ ।

कोभिड–१९ उच्च स्तरीय समितिले बाँडफाँड गरेको जिम्मेवारी बमोजिम संघीय सरकारले लक्षण देखिने सङ्क्रमितको उपचार व्यवस्थापन गर्छ । प्रदेशले स्थानीय तहसँगको समन्वयमा लक्षण नदेखिएका बिरामीको व्यवस्थापन गर्दै आएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ ।

काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा सङ्क्रमण बढेसँगै उपत्यका नगरपालिका फोरमको बैठक बसी शैया व्यवस्थापनको कार्यलाई तीब्रता दिएको छ । फोरमले प्रदेशसँगको समन्वयमा सात हजार शैया व्यवस्थापन गर्न जुटेको काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो ।

तर व्यवस्थापन भइनसकेको अवस्थामा मात्रै सङ्क्रमित हुने बढ्दो छन् । र काठमाडौं महानगरपालिका सात वटा वडामा मात्रै एक हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । लक्षण विहीन सङ्क्रमितको संख्या बढी भएकोले पनि स्थानीय तहका लागि सङ्क्रमित व्यवस्थापन चुनौतीपूर्ण छ । नेपालमा करिब ७५ प्रतिशत लक्षणविहीन सङ्क्रमित छन् ।

काठमाडौंका कोभिड–१९ हटस्पट

महानगरपालिकाको स्वास्थ्य महाशाखाका बमोजिम सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क ब्यक्ति ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो ।

वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब एक सय ३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तगर्त पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलले सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै सङ्क्रमितको सम्पर्कमा आएका १९५ जनालाई पहिचान गरिएको छ । तर महानगरको उक्त प्रयास भने पर्याप्त देखिन्न ।
काठमाडौंमा मात्रै शुक्रबार ३८६ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमितको सम्पर्कमा आएका कम्तिमा एक हजार हुन आउँछ । तर दैनिक एक सयदेखि दुई सङ्क्रमितको सम्पर्कमा आएका ब्यक्ति पहिचान गरिएको छ ।

महानगरले कन्ट्याक्ट ट्रेसिङका लागि दशवटा टोलि खटाएको छ । टोलिले हालसम्म छ हजार ४१३ जनालाई अलग्याएर पीसीआर परीक्षण गरेको छ । प्रवक्ता डंगोल भन्नुहुन्छ, “सङ्क्रमित पुष्टि भएसँगै सम्पर्कमा आएकाको खोजि हुन्छ, पहिचान गरेर अलग्याइन्छ र निश्चित समय तोकेर पीसीआर परीक्षण गरिन्छ ।” उक्त कार्यका लागि जनप्रतिनिधि परिचालन गरिएको छ । “स्वास्थ्य उपचार र परामर्शका लागि शहरी स्वास्थ्य क्लिनिक छन्,” उहाँले थप्नुभयो ।

आइसोलेशनको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको प्रोटोकल बमोजिम निर्धारण गरिएको छ । यद्दपी लक्षण विहीन बिरामीले घरमा छुट्टै कोठा र शौचालयको ब्यवस्था नरहेको जानकारी गराएपछि आइसोलेशन सेन्टरमै व्यवस्थापन गरिएको प्रवक्ता डंगोलले प्रष्ट्याउनुभयो ।

काठमाडौंमा मात्रै करिब छ सय भन्दा बढी लक्षणविहीन सङ्क्रमित होम आइसोलेशनमा छन् । होम आइसोलेशनमा बसेका सङ्क्रमितको चिकित्सकीय परामर्श, खाद्यान्न व्यवस्थापन लगायतबारे सम्बन्धित वडाका जनप्रतिनिधिले सोधखोज गर्दै आएको महानगरको दाबी छ । वडालाई होम आइसोलेशनमा बस्नेको अभिलेख राख्ने, अनुगमन गर्ने, समस्या बुझ्ने जिम्मेवारी दिइएको महानगरका प्रवक्ता डंगोलले जानकारी दिनुभयो ।

“होम आइसोलेशनका सङ्क्रमितमा समस्या भए दुई जना चिकित्सक परामर्श र हेरचाहका लागि राखिएका छन्,” महानगरका स्वास्थ्य महाशाखाका ओलीले बताउनुभयो । होम आइसोलेशनमा बसेकाहरुलाई डाक्टर निष्ठा उलक र अखिल त्रिपाठीले चिकित्सकीय परामर्श र सेवा दिनुभएको महाशाखाले जनाएको छ ।

“होम आइसोलेशनमा बस्नुहुनेमा कुनै प्रकारको स्वास्थ्य जटिलता देखिए तात्कालै महानगरको एम्बुलेन्सले अस्पताल पुर्याउँछ ।”– प्रवक्ता डंगोलले दाबी गर्नुभयो । त्यसपछिको उपचार लगायतको प्रकृया निर्धारित प्रोटोकल बमोजिम गरिदै आएको उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका लागि हाल बलम्बु, आयुर्वेद चिकित्सालय, खरिपाटीसहितका स्थानमा दुई हजार क्षमताको आइसोलेशन सेन्टर सञ्चालनमा छन् । जसमा करिब एक हजार सात सय जना सङ्क्रमित बसेका छन् । प्रवक्ता डंगोलका अनुसार नागार्जूनस्थित सामुदायिक भवन र नगरपालिका फोरमले सात हजार शय्या थप्न लागेकोले तात्काल आइसोलेशन शय्याको समस्या हुने देखिन्न ।

महानगरमा कोभिड–१९ को व्यवस्थापनका लागि ७४ जना स्वास्थ्यकर्मीको टोलि छ । प्रवक्ता डंगोलले जनप्रतिनिधिलाई मुख्य भूमिकामा राखेर स्वास्थ्यकर्मी र नगर प्रहरी परिचालन गरिएको बताउनुहुन्छ । यद्दपी कन्ट्याक्ट ट्रेसिङका लागि महानगरले गरेको प्रयास पर्याप्त नदेखिएको जनस्वास्थ्यविद् डा। शरद् वन्त बताउनुहुन्छ । सङ्क्रमण नियन्त्रणको प्रमुख उपाय नै कन्टयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई अलग्याउनु रहेकोले बढी भन्दा बढी स्रोत साधन परिचालन गर्न उहाँ जोड दिनुहुन्छ ।

तर महानगरका प्रवक्ता डंगोलले पछिल्ला दिनहरुमा टोलि तदारुकता र प्रभावकारी रुपले परिचालन भएको दाबी गर्नुहुन्छ । उहाँले लक्षण देखिएका र नदेखिएका सङ्क्रमितलाई ब्यवस्थापन गर्दै सङ्क्रमणलाई शून्यमा झार्ने लक्ष्यसहित तीनै तहको सरकार अगाडि बढेको बताउनुभयो ।काठमाडौं महानगरभित्र करिब तीन हजार एक सय जनामा सङ्क्रमण सक्रिय रहेको महानगरपालिकालाई उद्धृत गर्दै गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया