काभ्रे, भदौ २० : कोरोना सङक्रमणबाट धुलिखेल अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । दुई साता अघिदेखि उक्त अस्पतालमा उचाररत उनको आज (शनिबार) बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
महोत्तरी जिल्ला बर्दिवास नगरपालिका निवासी ७६ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
त्यस्तै, बनेपा नगरपालिका वडा न ५ मा रहेको शिर मेमोरियल अस्पतालमा १७ जनामा सङक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत कर्मचारी, बिरामी र बिरामीका कुरुवामा सङक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले शुक्रबार साँझ प्रादेशिक ल्याव धुलिखेलमा गरिएको परीक्षणमा १७ जनामा सङक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
पछिल्लो समय अस्पतालहरुका सङक्रमणदर बढ्दो रहेको छ । बनेपा वडा न १३ भैँसेपाटीमा रहेको स्पाइनल इन्जुरी अस्पतालमा १०४, धुलिखेल अस्पतालमा ५० भन्दा बढीमा सङक्रमण पुष्टि भइसकेको छ ।
जिल्लामा थप १७ मा सङक्रमण पुष्टि भएसँगै सङक्रमितको सख्या २१७ पुगेको छ । शुक्रबार मात्रै २२ जना सङक्रमित भएका थिए । डा. झाले सङक्रमितको सम्पर्कमा रहेकाको कन्टाक ट्रेसिङ सुरु भएको जानकारी दिनुभयो । जिल्लामा सर्वसाधरण देखी स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधि, बिरामी, सञ्चारकर्मी, कानुन व्यवसायी, कर्मचारी, वैदेशिक रोजगारीबाट फर्किएकामा सङ्क्रमण देखिएको छ ।






