काठमाडौं, भदौ १९ : अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आज साँझसम्म पदबाट राजिनामा दिने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आजको मन्त्रिपरिषद बैठकमा उहाँले सो कुरा बताउनुभएको बालुवाटार स्रोतले बताएको छ ।
राष्ट्रियसभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबारको सचिवालय बैठकमा राष्ट्रियसभामा लैजाने बताउनु भएपछि अर्थमन्त्री डा. खतिवडाले पदबाट राजिनामा दिन लाग्नुभएको हो । उहाँको कार्यकाल शनिबार राति १२ बजे सकिदैछ ।
आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएका मन्त्री खतिवडालाई प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारीका लागि धन्यवाद व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । उहाँकाअनुसार मन्त्री खतिवडाले बैठकमा आजै राजिनामा दिने बताउनुभएको थियो । सोहीअनुसार वर्तमान मन्त्रि परिषद तत्कालै परिवर्तन नहुने भन्दै प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ काम गर्न मन्त्रीहरुलाई आश्वास्त पार्नुुभयो ।
खाली ठाउँमा मन्त्रि राख्न आवश्यक भएपनि मन्त्रि परिषद फेरबदल नहुने प्रधानमन्त्रीले भन्नुभएका थियो । आजको बैठकले नेकपा उपाध्यक्षको नाम राष्ट्रिय सभाका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने भनिए पनि त्यसबारेमा केही जानकारी गराइएको छैन ।






