ढोरपाटन बाढी अपडेट : शव चिन्न मुस्किल, १४ को मृत्यु पुष्टि, २४ अझै बेपत्ता

  भदौ १९, २०७७

बागलुङ, भदौ १९ : बागलुङको विकट क्षेत्र ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा बुधबार मध्यरातमा भुजीखोलाको बाढीले तटीय क्षेत्रको उठीबास लगायो । मध्यरातमा उर्लेर आएको बाढीले भर्खर धर्ती टेकेको पन्ध्र दिने बच्चासहित ३८ जनालाई बेपत्ता बनायो । कुल ४१ बेपत्तामध्ये तीन जना सकुशल सम्पर्कमा रहे भने १४ जनाको शव फेला परेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जिल्ला सदरमुकामदेखि गएका युवाहरूले बिहीबार दिनभर र शुक्रबार बिहानसम्म बेपत्ताको खोजी गर्दा पनि थप बेपत्ता भेटिएका छैनन् । जे जति भेटिएका छन्, सबै मृत अवस्थामा फेला परेका छन् । मृतकको शव कसैको आफ्नै घर छेउमा भेटिएको छ भने कसैको खोलाले बगाउँदा गुल्मीको मुसिकोट नगरपालिका–५ इन्द्रगौडा पुर्याएको छ ।

मृत अवस्थामा फेला पर्नेहरूको कसैको खुट्टा, कसैको कम्मरसम्मको भाग त कसैको हात, कसेको टाउको मात्रा फेला पर्दा स्थानीय तथा प्रहरीलाई शव पहिचानमा कठिन भएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

प्रहरीले १४ जनामध्ये चार जनाको मात्र सनाखत गरेको छ । प्रहरी निरीक्षक भण्डारीका अनुसार ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केशमाया विक, लाकुरीबोटका ४६ वर्षीय करबहादुर विक उहाँका नाै वर्षीय छोरा दलु विक र २५ वर्षीय जीवन विकको पहिचान भएको हुँदा जनाको शव आफन्तले बुझिसकेका छन् । अन्य दश जनाको सनाखत हुन सकेको छैन । उनीहरूको शव प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा राखिएको छ

तपाईको प्रतिक्रिया