जुम्ला, भदौ १८ : जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमित हुनुभएको छ । प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण हँुदा नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो ।
कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिएका थापा आफैँ सङ्क्रमित भएपछि आईसोलेसनमा बसेको जानकारी गर्नुभएको हो । प्रजिअ थापाले सामाजिक सञ्जालमा जनताको सुरक्षा गर्ने सिलसिलामा काँधमा जिम्मेवारी र हृदयमा ईमान्दारिता बोकेर कर्तव्य पालनाको सिलसिलामा कोरोना युद्धमा खटिँदा आफूपनि सङ्क्रमित भएको जनाउनुभएको छ ।
उहाँले आफू सङ्क्रमित भएपछि आईसोलेसनमा रहेको र कार्यालयको कामको लागि सहायक प्रमुख जिल्ला अधिकारीको फोन ९८५८३२०३८० मा सम्पर्क गर्न अनुरोध गर्दै चाँडै सेवामा फर्किने आशा गर्नुभएको छ ।
थापा जुम्ला आउने वित्तिकै दैनिक बैठकसहित जिल्लाका कोरोना सङ्क्रमितसहितलाई समेत भेट र आईसोलेसन व्यवस्थापन गर्न गाउँ गाउँ जानुभएको थियो ।
प्रजिअ थापा सहित छजनाको नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालको पनि स्वाब परीक्षण गरिएको र उहाँको नतिजा नेगेटिभ आएको छ । एकदिन अघि मात्रै जिल्लाको कारागारका कैदीबन्दीसहित ३९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।






